अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०४ | Colorodo: 10:19

एउटा उत्कृष्ट कार्यक्रम न्यूयोर्कमा

बिआरटीनेपाल २०८१ असोज १४ गते ११:०७ मा प्रकाशित

न्यूयोर्क, गत शनिवारको साँझ, न्यूयोर्कमा नेपाली समुदायको साँझ, खासगरी नेपाली संगीत सर्जक कलाकारहरु र संगीतप्रेमी श्रोता दर्शकहरुको साँझ । हिमालय साँस्कृतिक प्रतिष्ठान न्यूयोर्कले सेप्टेम्बर २८ मा आयोजना गरेको “विविध साँस्कृतिक कार्यक्रम २०२४” को साँझ ।

साच्चै भन्नुपर्दा एकदमै बखान गर्न लायकको सभ्य अनि भव्य सांगीतिक कार्यक्रम थियो त्यो हिजोको साँझ । दशैंको आगमनको अवसर पारेर हिमालय साँस्कृतिक प्रतिष्ठान न्यूयोर्कको आयोजनामा गरिएको यस्तो कर्णप्रिय एवं भद्र सांगीतिक कार्यक्रम विरलै हुने गर्दछ प्रवासमा ।

नेपाली राष्ट्रगीत र अमेरिकी राष्ट्रगीत गाएर शुभारम्भ गरिएको सो कार्यक्रममा उपस्थित सबै महानुभावहरुलाई हिमालय कल्चरल एकेडेमीका फाउन्डर मेम्बर अभय ढुंगेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

उल्लेख्य रुपमा दर्शकहरुले हल भरिएपछि अग्रज श्रष्टाहरु तारा देवी, बच्चु कैलाश लगायतले गाउनु भएका कालजयी सदाबहार गीतहरु गुन्जन थाल्यो । “एक फूल झरेर के भो”, “यो मायाले लौ न मलाई माऱ्यो” जस्ता गीतहरुले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएको थियो ।

कार्यक्रममा सदाबहार पुराना आधुनिक गीतहरु; लोकगीत; गजल; पपगीत; कौडा जस्ता सबै खाले पन्ध्रवटा लाईभ गीतहरु प्रस्तुत गरिएको थियो भने ती प्रस्तुतिहरुमा संगीता मुखिया छोचूँ; सपना श्री; जगदीश समाल; अभय ढुंगेल; विमल डाँगी; हजुरी शाह कँडेल; नीशा सुनार; राजेन्द्र राई; सानु शेर्पा; सुभाष दाहाल; सलिना श्रेष्ठले दर्शक श्रोताहरुलाई निकै मनोरंजन गराएका थिए ।
यसैगरी, न्हुच्छे डंगोल; शिशिर श्रेष्ठ; हेमराज राई; डेभिड सौरभी ढकाल बाध्यवादनमा डुबेर संगीत दिईरहेका थिए ।

कार्यक्रमलाई आकर्षक एवं मनमोहक बनाउन उमा लामा; शिव बिक; ऋचा तामाङ; जास्मिन शेर्पाले उत्कृष्ट नृत्यहरु प्रस्तुत गरेका थिए । सो कार्यक्रममा न्यूयोर्क सिटी मेयर अफिसबाट कलाकारहरुलाई सम्मानपत्र (City Citation) पनि प्रदान गरिएको थियो । यस कार्यक्रमलाई रोचक बनाउँदै संचारकर्मी प्रदीप परियार थापाले उद्घोषण गर्नु भएको थियो ।

स्मरण रहोस् – सन् २०२१ मा न्यूयोर्कमा स्थापना भएको हिमालय साँस्कृतिक प्रतिष्ठानको संस्थापक सदस्यहरु अभय ढुंगेल; संगीता मुखिया छोचूँ; न्हुच्छे डंगोल; र शिशिर श्रेष्ठ हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू