अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०९ | Colorodo: 10:24

नेजाद्वारा टेक्सासमा पुस्तक विमर्श एवं समाज र पत्रकारिता विषयक अन्तरक्रिया

बिआरटीनेपाल २०८१ असोज १४ गते ११:०३ मा प्रकाशित

टेक्सास, नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा अमेरिकाको टेक्सासमा आइतबार पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तकमाथि छलफल गरियो । साथै, सो अवसरमा समाज र पत्रकारिता विषयमा समुदाय र पत्रकारबीच अन्तरक्रियासमेत गरियो ।

सुदूर पश्चिम समाज टेक्सासको सहकार्य रहेको सो कार्यक्रममा द्वन्द्व पत्रकारिताका १० वर्षमाथि गरिएको पुस्तक विमर्श कार्यक्रममा बोल्दै पत्रकार एवं नेजाका सल्लाहकार सञ्जय घिमिरेले उपाध्यायद्वारा लिखित पुस्तक द्वन्द्वका १० वर्षको ऐना भएको बताउनुभयो ।

‘जसले द्वन्द्व भोगे, यो पुस्तकले उनीहरुलाई त्यो नमीठो विगत स्मरण गराउनेछ’, उनले थपे, ‘अहिलेको पुस्ता, जसले द्वन्द्व भोगेन, उनीहरूलाई पनि त्यो समयको अनुभूति गराउनेछ ।’ घिमिरेले नेपाली पत्रकारले द्वन्द्वका कठिन घडीमा आफ्नो ज्यान जोखिममा राखेर भए पनि नागरिकको सु-सूचित र बाँच्न पाउने अधिकारको सुरक्षाका लागि अविचलित भएर कलम चलाएको बताउनुभयो ।

‘द्वन्द्वमा कति पत्रकारहरु मारिए, बेपत्ता पारिए ? प्रेस स्वतन्त्रता उल्लंघनका कति घट्नाहरु भए ? त्यसको नालिबेली र तथ्यांक मात्र यो पुस्तकमा समेटिएका छैनन्’, घिमिरेले भन्नुभयो, ‘यो पुस्तक द्वन्द्व त्यो समयको साक्षी हो । जसको अध्ययन गरेर भावी पुस्ताले द्वन्द्वका १० वर्षमा नेपाली समाजले भोगेको समय महसुस गर्नेछ ।’

यसैगरी, पुस्तकमाथि समीक्षा गर्दै पत्रकार एवं नेजा सदस्य गोपाल गड्तौलाले उपाध्यायद्धारा लिखित पुस्तक द्वन्द्व पत्रकारिताको एक दशक पुस्तक नेपाली पत्रकारहरुले भोगेको समयको अनुभवको दस्तावेज भएको बताए ।

‘यो पुस्तक उपाध्यायले लेखे पनि हामी सबै यो पुस्तकका पात्र हौं’, गड्तौलाले भन्नुभयो, ‘यो पुस्तक हामी सबै पत्रकारहरुको अनुभव, संघर्ष, पीडा र भोगाइको संगालो हो ।’ गड्तौलाले नेपाली पत्रकारहरुले द्वन्द्वका १० वर्षमा राज्य र माओवादी पक्षबाट भोगेका पीडा, प्रताडना, दबाब र हस्तक्षेप बिर्सिन नसकिने खालका भएको स्मरण गर्नुभयो ।

यसैगरी, नेजाका अध्यक्ष सुरज भण्डारीले पत्रकार उपाध्यायद्धारा लिखित पुस्तकमा आमपत्रकारहरुका अनुभव समेटिएको बताउँदै यो पुस्तक हामी सबैको साझा अनुभवको दस्ताबेज भएको धारणा राख्नुभयो । साथै, समुदाय र पत्रकारिताको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिँदै कार्यक्रमको समेत अध्यक्ष रहुभएका भण्डारीले पत्रकारिता क्षेत्रको विकासमा समेत समाजको भूमिका जरुरी रहेको बताउनुभयो ।

यस्तै, कार्यक्रममा नेजाका पूर्वअध्यक्ष भोला आचार्यले उपाध्यायद्वारा लिखित पुस्तकमा आमपत्रकारहरुका अनुभव समेटिएको बताउँदै यो पुस्तक सबै पत्रकारको अनुभवको साझा दस्ताबेज भएको धारणा राख्नुभयो । साथै, आचार्यले प्रवासमा रहेका पत्रकारलाई यहाँको समुदायले समाचार संकलन तथा प्रसारण तथा प्रकाशनमा आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । समुदायले समाचार माध्यम र सामाजिक सञ्जालबीचको भिन्नतालाई बुझेर पत्रकारलाई सहयोग गर्न आग्रह गर्नुभयो । यस्तै, नेजाका निवर्तमान अध्यक्ष विकासराज न्यौपानेले पत्रकारले निष्पक्ष रुपमा समाचार लेख्ने गरेको बताउँदै समुदायको पक्षमा समाचार नलेख्दा समुदायले पत्रकारलाई हेर्ने दृष्टिकोण नै फरक हुने बताउनुभयो । पुस्तक विमर्शसँगै कार्यक्रममा पत्रकार र समाजका विषयमा चर्चा गरिएको थियो । पत्रकारिता समाजकै अभिन्न अंग भएकाले समाजको हितमा पत्रकारिता गर्न पत्रकारहरुसँग वक्ताहरुले आग्रह गर्नुभएको थियो ।

नेजाका महासचिव बाबुराम दाहालको सञ्चालन मध्य क्षेत्रीय संयोजक शंकर थापाको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा नेजाका सदस्य तथा शिक्षाविद् एवं नेपाली ग्लोबल नेपाली पाठशालाका प्रिन्सिपल डा. भोजबहादुर बलायरले पत्रकारहरुले समाजलाई दिग्भ्रमित र विखण्डन गर्ने खालको सूचना सम्प्रेषण गर्न नहुने सुझाउनुभयो । सामाजिक सद्भाव र समाजका सकारात्मक पक्षलाई उजागर गर्न पत्रकारहरुसँग बलायरले आग्रह गर्नुभयो । उहाँले लेखक तथा पत्रकार उपाध्यायले द्वन्द्वका १० वर्षमा नेपाली पत्रकारहरुले नागरिकको जीवन रक्षाका लागि निर्बाह गरेको भूमिका अहिलेको पुस्ताले बिर्सिएको पनि बताउनुभयो ।

यसैगरी, द्वन्द्व अवधिमा माओवादी र राज्य पक्षबाट अपहरण तथा बेपत्ता पारिएकाहरुका बारेमा पत्रकारहरुले समयमै सूचना सम्प्रेषण गरेका कारण थुप्रै सर्वसाधारणको ज्यान जोगिएको पुस्तकका लेखक तथा पत्रकार उपाध्यायले अनुभव सुनाउनुभयो । ‘यो पुस्तक द्वन्द्वका १० वर्षमा नेपाली समाजले भोगेको द्वन्द्वको दस्तावेज मात्र होईन, यसमा मेरा युद्ध रिपोर्टिङका निजी अनुभव पनि छन् । जो आमपत्रकारहरुका अनुभव हुन्’, उपाध्यायले भन्नुभयो, ‘त्योसँगै नेपाल पत्रकार महासंघले पत्रकारहरुको पेसागत तथा भौतिक सुरक्षाका साथै लोकतन्त्रका लागि निर्बाह गरेको भूमिकाको पनि यसमा चर्चा गरेको छु ।’

यस्तै, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले पत्रकारिता निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो । वाग्लेले कसैप्रति आग्रह नराखी निष्पक्ष ढंगले सूचना सम्प्रेषण गर्न पत्रकारहरुसँग आग्रह गर्नुभयो ।

सो कार्यक्रमको आयोजनामा सहकार्य गरेको सुदूर पश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष गगन केसीले धन्यवाद मन्तव्यसँगै समुदायमा हुने सबै प्रकारका सूचनालाई निष्पक्ष रुपमा आमसमुदायमाझ पुर्याउन पत्रकारलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले द्वन्द्वमा नागरिकको जीवन रक्षाका लागि राज्य र माओवादी पक्षलाई खबरदारी गरेको नेपाली पत्रकारिताले शान्ति प्रकृया, गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका प्रशंसनीय भएको बताउनुभयो । यस्तै, कार्यक्रममा एनआरएनए अमेरिकाका उपाध्यक्षद्वय नेत्र पाण्डे र भानु खरेल, युनाइटेड नेप्लिज एसोसिसयनका अध्यक्ष भक्तबहादुर भण्डारी, प्रवासी नेपाली मञ्चका अध्यक्ष राजु नेपाल, ब्लड डोनर्स अफ एसोसियसनका उपाध्यक्ष शिव काफ्ले, नेपाली समाज टेक्ससका प्रवक्ता किरण पौडेल, सचिव पुण्य पाण्डे, सामाजिक अभियन्ताहरू प्रभात दीक्षित, राम सी पोखरेल, बाल जोशी, प्रभात दीक्षित, अर्जुन फुयाँल, रोशनी पाण्डेलगायतले पत्रकारिता क्षेत्रसँग जोडिएका जनताका अपेक्षाका बारेमा चर्चा गर्नुभएको थियो । यसैगरी, कार्यक्रममा पत्रकारहरु रामचन्द्र भट्ट, मनोज जोशी, लेखनाथ गौतम, ओम आचार्य, सन्देश उप्रेती, हरि सुवेदी, प्रकाश श्रेष्ठ, सुदीप सिवाकोटी, गुन्जन भण्डारीलगायतले समुदायले पत्रकारिताको मर्म, भूमिका र आवश्यकताबोध गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू