अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०७ | Colorodo: 12:22

अन्तरिक्षमा फसेका २ जनालाई लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो, आउँदो फेब्रुअरीमा पृथ्वीमा फर्कने

बिआरटीनेपाल २०८१ असोज १४ गते ७:२७ मा प्रकाशित

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका नासाका दुई जना अन्तरिक्षयात्रीलाई फिर्ता ल्याउन गएको ‘स्पेसएक्स’ को ‘ड्रागन क्याप्स्यूल’ आईएसएससँग जोडिएको छ । बुच विल्मोर र सुनी विलिएम्सका लागि दुई सिट खाली राखेर गएको यान आईएसएसमा जोडिएको अमेरिकी अन्तरिक्ष निकाय नासालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विल्मोर र विलिएम्स नासाको आठ दिने अभियानमा सहभागी हुँदै गएको जुन महिनामा बोइङको नयाँ स्टारलाइनर क्याप्स्यूल चढेर अन्तरिक्षमा गएका थिए । तर यानमा प्राविधिक समस्या देखा परेपछि उनीहरू आईएसएसमै बस्न बाध्य भएका थिए । अब उनीहरू आउँदो फेब्रुअरी महिनामा पृथ्वी फर्किन सक्ने नासाले जनाएको छ । स्टारलाइनर क्याप्स्यूल भने रित्तै पृथ्वीमा फर्किसकेको छ । स्पेसएक्सको ड्रागन क्याप्स्यूलले नासाका अन्तरिक्षयात्री निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जान्डर गोर्बुनोफलाई पनि लगेको छ ।

सन् २०११ देखि आफ्ना अन्तरिक्ष यान प्रयोग गर्न छाडेको नासाले अहिले अमेरिकी कम्पनी बोइङ र स्पेसएक्सको सेवा लिने गरेको छ । सन् २०१४ मा नासाले आफ्ना अन्तरिक्ष अभियानमा सहयोग लिने गरी ती दुई कम्पनीसँग अर्बाैं डलरको सम्झौता गरेको छ । अर्बपति एलन मस्कको निजी कम्पनी स्पेसएक्सले पहिलो पटक अन्तरिक्षयात्रीलाई आईएसएससम्म पुर्‍याएको थियो । बोइङले सन् २०१९ र २०२२ मा मानवविना नै यानको परीक्षण उडान गरेको थियो । त्यस बेला पनि समस्याहरू देखा परेकामा गएको जुनमा अन्तरिक्ष केन्द्रमा यात्री पुर्‍याए पनि फिर्ता ल्याउन भने सकेन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू