मुसलधारे वर्षाका कारण नदीहरुमा जलसतह बढेको छ । दिउँसोपछि पानी पर्नेक्रम कम भए पनि अझै विभिन्न नदीको १५ ठाउँमा जलसतह खतराको तहभन्दा माथि रहेको छ ।बाढी पूर्वानुमान् महाशाखाका अनुसार बाग्मती नदी अन्तर्गत मनोहराले काठमाण्डौको बालकुमारीमा, हनुमन्तेले भक्तपुरको कौशलटारमा, बाग्मतीले ललितपुरको खोकनामा र कर्मैयाले रौतहटमा खतराको तह पार गरेको छ ।यस्तै नारायणी नदीले चितवनमा र बारामा पसाहा खोलाले खतराको तह पार गरेको छ । यस्तै कोशी नदी अन्तर्गत धनकुटामा अरुण र तमोर, सिन्धुपाल्चोकमा भोटेकोशी, सिन्धुलीको खुर्कोटमा सुनकोशी नदीमा जलसतह खतराको तहभन्दा माथि छ ।
यस्तै सुनसरीमा सप्तकोशी, सर्दुखोला र बुद्धिखोलाले खतराको तह पार गरेको छ । यस्तै नारायणी, बाग्मती, कमला, कोशी कैशल्या लगायतका नदीहरु १३ भन्दा बढी ठाउँमा खतराको तह आसपासमा रहेका छन् ।यसैबीच अत्याधिक वर्षाका कारण विभिन्न नदीका ७९ वटा जलाधार क्षेत्रमा रेड अलर्ट जारी भएको छ । रेड अलर्ट जारी भएका क्षेत्रमा ठूला साना सबैखाले नदी तथा खोलाहरुमा जुनसुकै बेला बाढी आउन सक्ने बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ । नारायणी नदीको पाल्पा, तनहुँ, चितवन, मकवानपुर, गोरखा, लमजुङ लगायतका जिल्लामा रहेका जलाधार क्षेत्रहरुमा रेड अलर्ट जारी भएको छ । यस्तै कोशीको खोटाङ, सुनसरी, धनकुटा, तेह्रथुम, इलाम लगायतका जिल्लामा रेड अलर्ट जारी भएको छ । बाग्मतीको सबैजसो जलाधार क्षेत्रमा रेड अलर्ट छ ।