अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०४ | Colorodo: 16:19

कवि एवं गीतकार दीपा राई पुनको गीत ‘कुनै मधुर धून’ को म्युजिक भिडियो सार्वजनिक

बिआरटीनेपाल २०८१ असोज १० गते १५:५० मा प्रकाशित

अमेरिका । कवि एवं गीतकार दीपा राई पुनको गीत ‘कुनै मधुर धून’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली समय अनुसार असोज तीन गते बिहिवार बिहान आठ बजे र अमेरिकी समय अनुसार बुधबार राती दश बजे गीतकार स्वयंको यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा दीपा राई पुनको शब्दमा मेलिना राईको स्वर रहेको छ ।

आधुनिक सुगम शैलीको गीतमा सचिन सिंहले सङ्गीत संयोजन गरेका छन् । अकस्टिक नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत चन्द्र चौधरीले मिक्सिङ गरेका हुन् । म्युजिक भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ भने दिनेस पराजुलीको छायाङ्कन र बिकास पराजुलीको सम्पादन रहेको छ ।

राजबाबु चौधरीले रेकर्ड गरेका यस गीतको प्रस्तुती गीतकारकी आमा बिमला राईले गरेकी हुन् । फर्पिङ र उत्तर बाहिनीका सुन्दर ठाऊँहरूमा छायांकन गरिएको यस गीतमा श्रास र रक्षाको सुन्दर र कलात्मक अभिनय हेर्न पाइन्छ । म्युजिक भिडियोमा प्रेमिल जोडीका माया पिरतीका विभिन्न क्षणहरू, प्रेम प्रतिको समर्पण र आत्मिय प्रेमको नमुनालाई प्रस्तुत गरिएको छ ।

प्रवासमा बसेर नेपाली गीत, संगीत र कविताको क्षेत्रमा आफ्नो कलम अनवरत रुपले चलाउँदै आएकी राईका दर्जन भन्दा बढी गीत ख्याती प्राप्त गायक गायीकाको आवाजमा रेकर्ड भइसकेका छन् भने उनका कविता कृतीहरू पनि बजारमा छन् ।

यो भन्दा अगाडि ‘प्रतिरुप’ गीति एल्बम र तिम्रो सपनाको म, स्पन्दनका रागहरू, छुटेको बागदाता, दीयोको अन्तिम लप्का र शरदका पहेंला पातहरू, जस्ता कविता कृति बजारमा ल्याईसकेकी राईले आगामी दिनमा फरक खालका गीत र कविता कर्मलाई निरन्तरता दिने बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू