अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०८ | Colorodo: 10:23

प्रमाण र तथ्यका आधारमा देशको नीति बनाउनुपर्छ : सभामुख घिमिरे

बिआरटीनेपाल २०८१ असोज १० गते ७:१५ मा प्रकाशित

सभामुख देवराज घिमिरेले प्रमाण र तथ्यका आधारमा देशको नीति बनाउन आग्रह गर्नुभएको छ ।बिहीबार काठमाडौंमा नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो आग्रह गर्नुभएको हो । सभामुख घिमिरेले संघीयताको नौलो अभ्यास गरिरहेको नेपालमा प्रमाण र तथ्यका आधारमा नीति बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले संघीयताबारे भएका बहस पनि भावनामा नभइ तथ्यका आधारमा हुनुपर्ने बताउनुभयो । उहाँले नीति प्रतिष्ठानको अध्ययन, अनुसन्धान र सुझाव अहिले मुलुकले माग गरिरहेको बताउनुभयो ।

सभामुख घिमिरेले मुलुकका नीति कुनै एक सरकारका लागि मात्रै नभइ सिंगो राष्ट्रका लागि हुनुपर्ने बताउनुभयो । उहाँले एउटा सरकारले बनाएको नीति अर्को सरकार आउने बित्तिकै तोडिने परम्परा सुखद् नरहेको जिकिर गर्नुभयो । उहाँले संसदले बनाउने कानूनको मस्यौदा बनाउँदासमेत प्रतिष्ठानका सहभागिता र सहकार्य अपरिहार्य रहेको भन्दै संघीय संसद सचिवालयले प्रतिष्ठानसँग सहकार्य गर्न प्रारम्भ गरिरहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा पनि मुलुकको कानून निर्माण गर्ने संसद र नीति निर्माणका सुझाव दिने प्रतिष्ठान बीचमा हातेमालो हुनु अनिवार्य रहेको बताउनुभयो ।

सभामुख घिमिरेले मुलुकको नीति बनाउन सहयोग गर्ने महत्वपूर्ण र गहन कार्यक्षेत्र भएको प्रतिष्ठानलाई सरकारले आर्थिक बोझको रुपमा लिनु नहुने बताउनुभयो । संघीयताको सबलीकरण, आर्थिक सशक्तिकरण, कृषि, व्यापार तथा लगानी, वैदेशिक नीति, पर्यटन नीति, वातावरण, स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्रको नीति निर्माणमा योगदान दिन प्रेरित गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू