अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

बालेन समर्थकको ‘सुरक्षा थ्रेट’का कारण प्रधानमन्त्री ओली ‘नेशनल डे कन्सर्ट’मा नजाने

बिआरटीनेपाल २०८१ असोज १ गते ७:१७ मा प्रकाशित

संविधान दिवसको अवसरमा आयोजना हुन लागेको नेशनल डे कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने हुनुभएको छ । नागरिक स्तरबाट असोज ३ गते नारायणहिटी दरबार अगाडि हुन लागेको कन्सर्टमा सुरक्षा थ्रेट महसुस गरिएको भन्दै प्रधानमन्त्री ओलीलाई त्यहाँ नजान सुरक्षा निकायले सुझाव दिएपछि उहाँ कार्यक्रममा सहभागी नहुने बताइएको छ । प्रधानमन्त्री ओलीको काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग टकरावको सम्बन्ध छ। बालेनले लगातार प्रधानमन्त्री ओलीविरुद्ध सामाजिक सञ्जालबाट प्रहार गरिरहनुभएको छ भने उहाँका समर्थकले अनफलो अभियान नै चलाइरहेका छन्।

खुला सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री उपस्थित हुँदा बालेनका समर्थकबाट सुरक्षामा असर पर्ने भन्दै चारवटै सुरक्षा निकायले प्रधानमन्त्रीलाई नजान भनेका थिए। पहिले माओवादीका ‘उदण्ड’ कार्यकर्तालाई तह लगाएको स्मरण गर्दै ओलीले जाने इच्छा देखाउनुभएको थियो। तर, अहिले उक्त कार्यक्रममा उहाँको सहभागिता नहुने भएको हो। मंगलबार इन्द्रजात्रामा प्रधानमन्त्री ओली उपस्थित हुने कार्यक्रममा बालेनका समर्थकलाई नियन्त्रणमा लिइएको थियो। बालेनको नाम र फोटो अंकित टि–सर्ट लगाएर वसन्तपुर पुगेका बालेन समर्थकलाई प्रहरीले साइड लगाएपछि इन्द्रजात्राको औपचारिक कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुनुभएको थियो। यसबाट पनि प्रधानमन्त्री ओलीले बालेन समर्थकबाट सुरक्षा थ्रेट महसुस गरेको बुझ्न सकिन्छ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले संविधान दिवसको दिन प्रधानमन्त्री बिहानको औपचारिक कार्यक्रममा मात्रै सहभागी हुने जानकारी दिनुभयो।उहाँले भन्नुभयो, ‘संविधान दिवसको दिन बिहान हुने औपचारिक कार्यक्रममा उहाँको सहभागिता हुन्छ। अरु अनौपचारिक कार्यक्रम हुन्। त्यहाँ जाने कार्यक्रम छैन।’ संविधान दिवसका दिन प्रत्येक वर्ष सरकारले टुँडिखेलमा औपचारिक समारोह आयोजना गर्ने गर्छ। कन्सर्टमा प्रधानमन्त्री ओली पनि सहभागी हुने आयोजकका तर्फबाट आइतबार गरिएको पत्रकार सम्मेलनमा बताइएको थियो। चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका आयोजक दिनेश डिसीले प्रधानमन्त्रीसमेत सहभागी हुने दाबी गर्नुभएको थियो। ओलीले आउने वचन दिएपछि डिसीले त्यसलाई सार्वजनिक गर्नुभएको थियो ।

कन्सर्ट दिउँसो ४ बजेदेखि राति ८ बजेसम्म चल्नेछ। कार्यक्रममा राष्ट्रिय एकता, स्वाभिमान, र राष्ट्र प्रेमका विषयवस्तुहरूलाई केन्द्रित गर्दै कुटुम्ब, इलिमेन्ट्स, अन्तरालगायतका व्यान्ड, कलाकारहरूले प्रस्तुति दिने बताइएको छ। यसअघि भदौ १० गते टुडिखेलमा आयोजित गौरा वर्षमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको थियो। त्यहाँ युवाहरुले संगठित रुपमै ओली र देउवाको विरोधमा हुटिङ र नाराजुलुस गरेका थिए। युवाहरुको हुटिङ र नाराजुलुसकै बीच ओली र देउवाले सम्बोधन गरेर तनावपूर्ण अवस्थामा कार्यक्रममा समापन भएको थियो।

नाराबाजी गर्नेलाई ओलीले नयाँ पुस्ताले ‘शिष्टता, सभ्यता र मर्यादा बिर्सिएको टिप्पणी गर्नुभएको थियो भने देउवाले ‘लाज नभएकाहरू, जति कराउनु हुन्छ कराउनुस्’ भन्दै आक्रोश पोख्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू