अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५१ | Colorodo: 16:06

जिम्बावेले २ सय वटा हात्ती मारेर भोकमरीबाट पीडित नागरिकलाई मासु वितरण गर्ने

बिआरटीनेपाल २०८१ असोज १ गते ६:५९ मा प्रकाशित

जिम्बावेले दुई सय वटा हात्ती मारेर भोकमरीबाट पीडित नागरिकलाई मासु वितरण गर्ने भएको छ । चार दशकको सबैभन्दा खराब खडेरीपछि तीव्र भोकमरीको सामना गरिरहेका समुदायलाई खुवाउन दुई सय वटा हात्ती मार्ने योजना बनाइएको जिम्बावे सरकारका मन्त्रीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।जिम्बावेले सन् १९८८ पछि पहिलोपटक जङ्गली जनावर मारेर नागरिकलाई मासु वितरणको योजना बनाएको समाचारमा जनाइएको  छ । ‘एल निनो’ मौसमी प्रणालीका कारण शुरू भएको खडेरीले दक्षिणी अफ्रिकामा बाली उत्पादन नहुँदा झन्डै सात करोड जना मानिस चरम भोकमरीमा पुगेका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

जिम्बावेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु प्राधिकरणका प्रवक्ता तिनाशे फरावोले अरू विकल्प नभेटेपछि हात्ती मारेर खडेरीबाट प्रभावित समुदायमा मासु वितरण गर्न लागिएको बताउनुभएको छ । जिम्बावेमा ८४ हजार वटाभन्दा धेरै हात्ती छन् । प्राधिकरणका प्रवक्ता फरावोले देशले अहिले ५५ हजार वटा हात्ती मात्रै धान्न सक्ने बताउनुभएको छ । एकातिर जङ्गलमा हात्तीको भीडभाड कम गर्ने र अर्कोतिर भोकमरीबाट केही राहत हुने भएकाले यो उपाय उत्तम रहेको सरकारको दाबी छ । ८४ हजार हात्तीमा दुई सय वटा मार्नु भनेको समुद्रबाट एक थोपा पानी निकाल्नु जस्तै भएको पनि फरावोको जिकिर छ ।

चर्को खडेरीका कारण वनजङ्गल र पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु बस्तीतर्फ आउने र मानव–वन्यजन्तु द्वन्द्व बढ्न सक्ने सम्भावना बढेको पनि समाचारमा जनाइएको छ । गएको वर्ष जिम्बावेमा हात्तीको आक्रमणबाट ५० जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू