अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२० | Colorodo: 13:35

बुढी पोल्ने अर्थात बन्ढुनी पर्व मनाइयो

बिआरटीनेपाल २०८१ असोज १ गते ६:४५ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बुढी पोल्ने अर्थात बन्ढुनी पर्व धूमधामका साथ मनाइएको छ । भगवान् श्रीकृष्णले कंशकी बहिनी पुतनालाई मारेको सम्झनामा प्रत्येक वर्ष असोज संक्रान्तिका दिन विजय उत्सवको रुपमा मनाइने परम्परा रहि आएको छ । भाद्र संक्रान्तिका दिनमा काँडा तथा रूखका हाँगाहरू र झाडीहरुद्वारा ठड्याइएको लिंगो अर्थात बुढीलाई आज सन्ध्याकालमा घरघरबाट गाईको गोठमा भूतप्रेत खेदेर आगाको राँको ल्याई सामूहिक रुपमा दहन गर्ने गरिन्छ ।

द्वापर युगमा राक्षस पुतनाले राजा कंशको आदेशमा भगवान् श्रीकृष्णलाई दूधको रूपमा विष खुवाएर मार्न लगाएको र भगवान् श्रीकृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसी मारेको खुसियालीमा यो पर्व मनाउने धार्मिक विश्वास रहेको छ । दोबाटोमा राखिएको पुतना राक्षसको आकृतिलाई दहन गरि जलेको उक्त खरानीको तिलक गाईलाई लगाउने चलनसमेत रहेको छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै रोग नलाग्ने धार्मिक विश्वास रहेको छ ।

पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ थुई बुढी थुई भन्दै काँक्रो चपाएर राक्षसी प्रवृतिको निन्दा तथा विकृतिपूर्ण भइरहेको सामाजिक परिवेश र देशको वर्तमान अवस्थाप्रति आलोचना र गाली गर्दै जलाउने गरिएको छ । भव्य रुपले मनाउने परम्परा पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा युवा क्लब तथा सामाजिक संस्थाहरुको आयोजनामा डेउडा खेल खेल्दै प्रहसन नाटक तथा सांगितिक र सांस्कृतिक कार्यक्रम गरेर पनि मनाइने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू