अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०४ | Colorodo: 10:19

भ्रष्टाचार विरोधी अभियानको सुई ओली र देउवातिर सोझिँदा मेरो सरकार ढल्योः माओवादी अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०८१ भदौ २९ गते ७:०५ मा प्रकाशित

पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘सुशासनको सुई बालकोट र बुढानीलकण्ठतिर सोझिँदा’ आफ्नो सरकार ढालिएको आरोप लगाउनुभएको छ । शनिबार मोरङको ग्रामथानमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भूटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तको गिरफ्तार र सुशासनको सुई बालकोट र बूढानीलकण्ठ सोझिँदा आफ्नो सरकार ढलेको बताउनुभएको हो । ‘सुशासनको सुई बालकोट सोझियो, बुढानीलकण्ठतिर पनि सोझियो। जब भ्रष्टाचार विरोधी अभियानको सुई उता सोझियो, एउटा आतंक नेताहरुमा पैदा भयो एउटा डर, भय उत्पन्न भयो,’ उहाँले भन्नुभयो । त्यसकारण आफ्नो सरकार ढलेको प्रचण्डले बताउनुभयो ।

उहाँले भनेको बालकोट एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निवास हो भने बुढानिलकण्ठ पूर्व प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको निवास हो। ‘राम्रो काम गर्न खोज्दा खोज्दै कुनै पनि अभियोग नलाग्दा नलाग्दै पनि तथाकथित संख्याको बलमा बडो अप्राकृतिक रुपमा अस्वाभाविक रुपमा आफ्नै नेता कार्यकर्तालाई जानकारी नदिई पहिलो र दोस्रो पार्टीका बीचमा गठबन्धन भयो र सरकार बदलिने परिस्थिति बन्यो,’ अध्यक्ष प्रचण्डले भन्नुभयो।

प्रचण्डले यसपटक पनि बंगलादेशबाट पाठ सिक्न सत्ता गठबन्धनलाई चेतावनी दिनुभयो । ‘मैले खबरदारी मात्रै गरेको हो, कांग्रेस एमाले नेताहरुले भनेजस्तो बंगलादेश बनाइदिन्छु भनेको होइन?, उहाँले भन्नुभयो ‘ ‘मैले सम्झाएको मात्र छु, दुई तिहाइको तपाईहरुलाई अहंकार आयो भने धेरै टाढा जानुपर्दैन बंगलादेश हेरे पुग्छ, त्यहाँ पनि दुई तिहाइ एउटै पार्टीको थियो ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू