राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकमा राष्ट्रिय भेलाको बारेमा बृहत् छलफल भएको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधिबारे छलफलको साथै राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट लिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ ।।
उहाँले भन्नुभयो, ‘बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधिबारे छलफल भएको छ । राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट लिनुभएको छ । राष्ट्रिय भेलाको प्रस्तावित कार्य तालिका, हालसम्मको तयारी, प्रस्तुत गरिने प्रतिवेदनहरूको प्रस्तावका विषयमा पनि छलफल भएको छ । जिल्ला भेला र जिल्ला समिति गठन गर्ने, विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र आवश्यक छलफल गर्ने र प्रस्तावित नियमावली र कार्यविधिहरू सम्बन्धमा छलफलहरू भएको छ ।’
यसका साथै, उहाँले बैठकमा सुमना श्रेष्ठले अहिले सर्वोच्च अदालतले गरेको फैसला अनुसार उपत्यकाको खोला किनारको मापदण्ड सामान्य व्यवहारभन्दा बाहिर देखिएको धारणा राखेको जानकारी दिनुभयो । यस्तो अवस्थामा यसबाट प्रभावित क्षेत्रका बासिन्दालाई मर्का परेकाले स्थानीय तहले पनि पुनरावलोकनको माग गरेकोबारे श्रेष्ठले आफ्नो अभिव्यक्ति राखेको पनि उहाँले जानकारी दिनुभयो ।