अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१४ | Colorodo: 21:29

सुदूरपश्चिम प्रदेश सरकारले पर्सि सोमवार फेरि बजेट ल्याउने

बिआरटीनेपाल २०८१ भदौ २९ गते ६:५५ मा प्रकाशित

सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि फेरि बजेट ल्याउने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज पत्रकार सम्मेलन गरेर पर्सि सोमवार बजेट ल्याउन लागेको जानकारी गराउनुभएको हो । यसअघि बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट ल्याउन लागेको उहाँले बताउनुभयो ।यसअघि नेकपा (एकीकृत समाजवादी)का नेता दीर्घ सोडारी नेतृत्वको प्रदेश सरकारले असार १ गते चालू आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको थियो । प्रदेश सभाबाट बजेट पारित नहुँदै सोडारी नेतृत्वको सरकार ढलेपछि बजेट प्रदेश सभामा अलपत्र परेको छ ।

मुख्यमन्त्री शाहले यसअघि सदनमा प्रस्तुत भएको बजेटमै सामान्य पुनरावलोकन गरेर नयाँ बजेट ल्याउने तयारी गरिएकोे बताउनुभयो । प्रदेश सरकारले योजनाका लागि २५ लाख भन्दामाथिको सिलिङ कायम गरी बजेट विनियोजन गर्ने, आवश्यकता र औचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा पालिकालाई वित्तीय हस्तान्तरण गर्ने तय गरेको छ ।

त्यस्तै प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने आधार तय गरेको पनि मुख्यमन्त्री शाहले बताउनुभएको छ । यसअघि ल्याएको बजेट पारित नहुँदा प्रदेश सरकार उधारोमा काम गरिरहेको छ । समयमा बजेट नआउँदा प्रदेश सरकारका योजना ठप्प छन् । प्रदेश सरकार मातहतका कर्मचारीले तलबसमेत पाउन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू