अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०० | Colorodo: 10:15

कवि नन्दलालको मनका तरङ्ग भाग ३ लोकार्पण

बिआरटीनेपाल २०८१ भदौ २७ गते १०:०१ मा प्रकाशित

पोखरा – कवि नन्दलाल बरालको पुस्तक मनका तरङ्ग भाग ३ लोकार्पण गरिएको छ । स्रष्टा समाज पुम्दीभुम्दीको आयोजनामा कवि बरालद्वारा लिखित पुस्तक लोकार्पण गरिएको हो ।
सिएड अध्ययन गरेका बराल बाल्यकालमै कविता कोर्न थालेका थिए । विद्यालयमा शुक्रबारे कार्यक्रम सञ्चालन हुँदै गर्दा साहित्यिक कार्यक्रममा भाग लिँदै अघि बढेका उनले केही समय गाह्रो लागेर लेख्न छोडेका पनि थिए । तर, २०५७ साल पछिका कविताहरू भने उनले सङ्कलन गरी राखेका छन् । उनको पहिलो सङ्कलित कविता मानव मूर्ति दानव हो । त्यो भन्दा अघिका कविताहरू सङ्कलित नरहेको उनले सुनाए ।

‘छोरे पाटन माविमा २०६० पछि होला, प्रत्येक महिनाको तेश्रो साताको शुक्रवार साहित्यिक कार्यक्रम हुन्थ्यो, मैले पनि साहित्यिक कार्यक्रममा भाग लिने गर्दथेँ’ उनले भने, ‘त्यस बेला त्रैमासिक पत्रिका प्रकाशन गरिन्थ्यो र त्यो पत्रिकामा मेरा पनि कविता प्रकाशित हुने गर्दथे । जसले मलाई कविता लेख्ने हौसला थपेको थियो ।’

उनले मोबाइलमा गजल र मुक्तक कोर्दै जाँदा नेपाली साहित्य सुधाका एडमीन गोमा ढकाल (सिटौला) उनको गजल र मुक्तकहरू सच्याउँदै सिकाउँदै आएको उनी सुनाउँछन् । त्यहाँबाट गजल र मुक्तकको यात्रा सुरु भएको उनको भनाई छ । त्यो समय लेखेका गजल र मुक्तकहरू मनका तरङ्ग भाग २ मा केही प्रकाशित भैसकेका छन् र बाँकी रहेका गजल र मुक्तकहरू मनका तरङ्ग भाग ३ प्रकाशित छन् ।
पोखरा महानगरपालिका २२ पुम्दीभुम्दी स्थित महिला विकास सहकारी संस्थाको सभाहलमा संस्थाका अध्यक्ष गोविन्दप्रसाद बरालको अध्यक्षता भएको कार्यक्रममा छन्द नायक माधव वियोगी, पोखरा महानगरपालिका २२ का वडा अध्यक्ष हिमलाल बराल, छन्द वाचक शिव त्रिपाठी, महाकाव्यकार चन्द्रमणि अधिकारी, संस्थाका वरिष्ठ सल्लाहकारहरू नवराज बराल ‘निशान्त’ र भीमनाथ बराल, नेपाल प्रज्ञा प्रतिष्ठान प्रज्ञासभा सदस्य साहित्यकार नारायण मरासिनी लगायत विभिन्न साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू