अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२८ | Colorodo: 10:43

चलचित्रको प्रवर्द्धनमा कलाकारको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०८१ भदौ २७ गते ९:५२ मा प्रकाशित

काठमाडौँ । नेपाल चलचित्र कलाकार सङ्घको ३६औँ स्थापना दिवसको अवसरमा सङ्घले बुधवार चलचित्र विकास बोर्डको सभाकक्षमा चलचित्रको प्रवर्द्धनमा कलाकारको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली चलचित्रका कलाकारहरूले चलचित्रको प्रवर्द्धनमा सहयोग नगरेको गुनासो सुनिएको बताएका छन् । पछिल्लो समय कलाकारहरूले आफैले स्टार स्वघोषणा गर्ने र त्यही अनुसारको पारिश्रमिक लिएर फिल्म रिलिजको समय प्रवर्द्धन र प्रचार प्रसारमा सहयोग नगरेको चलचित्र निर्माता सङ्घका अध्यक्ष नबल खड्काले बताए ।

कलाकार सङ्घका वरिष्ठ उपाध्यक्ष शिवहरी वैरागीको संयोजकत्वमा एवं सङ्घका महासचिव सबिन श्रेक्ष्ठको सह संयोजनमा आयोजित कार्यक्रमको प्रमुख वक्ता समेत रहेका वरिष्ठ चलचित्रकमल नीर शाहले सैद्धान्तिक र दार्शनिक दृष्टिकोणमा आधारित धारणा राखेका थिए । “अहिले कलाकारको विषयमा जति गुनासो आयो । त्यसको मुख्य कारण हामीले प्रतिपादन गरेका सैद्धान्तिक र दार्शनिक धरातल मेल नखानुको कारणले उत्पन्न भएको हो । यी समस्या यदि समाधान उन्मुख हुन्छन् भने त्यसलाई हामीले सैद्धान्तिक रूपबाट नै अन्त्य गर्न सक्छौ, अन्यथा असत्य गर्न सक्दैनौ । अहिले छलफलका विषय पनि सैद्धान्तिक र दार्शनिक हुन् भन्ने मैले अनुभव गरेको छु । सबैभन्दा हामीले कलाकार भनेको के हो भन्ने बुझ्नुपर्छ । कलाकारितामा लामो यात्रा गर्दा मैले अभिनय कला भनेको इम्प्रेसनहरूको एक्प्रेसन हो भन्ने बुझे । अर्थात् प्रभावहरूको अभिव्यक्ति हो । कुनै न कुनै कुरामा प्रभावित नभई त्यो कुरा अभिव्यक्त गर्न सक्नुहुन्न । आफूलाई प्रभावित गर्ने कुरा जति राम्रोसँग गर्न सक्यो त्यो त्यति राम्रो कलाकार भयो । हामी के प्रभावमा परेका छौ, त्यो बुझेपछि मात्र प्रभावबाट मुक्त हुन सक्छौँ,” नीर शाहले भने ।

शाहले अहिलेको कलाकारहरूले पहिले कलाकारिता भनेको के हो ? र यसले कस्तो किसिमको जिम्मेवारी ग्रहण गर्छ ? भन्ने नबुझेको बताए । यदि उक्त कुराको ज्ञान सबैसँग भएको भए उनले नेपाली फिल्मको प्रवर्द्धनमा निरन्तर लागिरहने उल्लेख गरे । निर्देशक र प्राविधिकहरू विदेशी भए पनि पहिलो फिल्म आमामा शिवशङ्कर, वसुन्धरा भुसालहरूले सामाजिक यथार्थलाई बोध गरी फिल्म खेलेका कारण नेपाली फिल्मको विकास क्रम सुरु भएको र यसले कहीँ न कहीँ चलचित्रको विकास र प्रवर्द्धन हुँदै आएको शाहले बताए ।

कलाकारले फिल्म क्षेत्रको प्रवर्द्धन त परै जाओस्, आफूले अभिनय गरेको चलचित्रको प्रवर्द्धन समेत ध्यान दिन छोडेको सङ्घ संस्थाका प्रतिनिधिहरूको आरोप छ । विशेष गरेर पछिल्लो समय भित्रिएका कलाकारमा यस्तो प्रवृत्ति हाबी रहेको उनीहरूको भनाई थियो । कार्यक्रममा अहिलेका कलाकारले सङ्घ संस्थाको महत्त्व समेत नबुझेको चर्चा भयो । आफूहरूलाई अप्ठ्यारो पर्दा सम्झने, सङ्घ संस्थाले केही गरेन भन्ने र कार्यक्रम वा गतिविधिमा भने सहभागी नहुने गरेको धेरैको भनाई थियो ।

यस्तै वरिष्ठ कलाकार वसुन्धरा भुसालले कलाकारिता क्षेत्रलाई कलाकार सङ्घले सङ्गठित गर्दै आएको बताइन् । फिल्म क्षेत्रलाई विकास बोर्डले सहकार्य गर्नुपर्ने पनि उनले बताइन् । ’चलचित्र विकास बोर्ड अन्तर्गतमा रहेको चलचित्रकर्मी कल्याणकारी कोषमा कालकारहरुको सहयोगको चासो नभएकोमा उनले दुःख व्यक्त गरिन् । ’’एउटा फिल्मको ५ सय दिए पनि अहिले चलचित्र कल्याणकारी कोष धेरै हुन्थ्यो । कलाकारलाई जब दुःख पर्छ कलाकार सङ्घ चाहिन्छ । पारिश्रमिक रोकिन्छ कलाकार सङ्घ चाहिन्छ । अहिलेका नायक, नायिका कार्यक्रममा नदेख्दा दुःख लागेको छ । चलचित्र र चलचित्र क्षेत्रको प्रवर्द्धन नदेख्दा दुःख लागेको छ । कलाकार सङ्घ बलियो भयो, हामी एक जुट भयौ भने सरकालाई दबाब दिन सक्छौ ।’’ कलाकार वसुन्धराले भनिन् ।

कार्यक्रमका अध्यक्ष मोहन निरौलाले सङ्घको इतिहासदेखि वर्तमानसम्मको अवस्था, समस्या र गतिविधिहरूको बारेमा चर्चा गरेका थिए । कलाकारहरूको क्षमता विकास, स्वास्थ्य अवस्था र पेसाकर्मीको सुरक्षा र अधिकारको लागि सङ्घ लाग्दै आएको उनले बताए । पछिल्लो समय सरकारलाई स्वदेशी फिल्मको प्रवद्र्धन हुने गरी राष्ट्रिय चलचित्रको पक्षमा काम गर्न र कानुन निर्माण गर्न चलचित्र विकास बोर्ड, सञ्चार मन्त्रालय र सम्बन्धित पक्षलाई निरन्तर आह्वान र खबरदारी गर्दै आएको अध्यक्ष निरौलाले बताए ।

चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष दिनेश डिसीले आफू भर्खरै बोर्डमा आएकोले योजनाहरू बनाउने क्रममा रहेको बताए । उनले छिट्टै चलचित्र विधेयक र चलचित्र नीति पास गर्ने गरी प्रक्रिया सुरु गरेको पनि बताए । बहुबर्षिय योजनामा बनेपा फिल्म स्टुडियो निर्माण गर्ने भनिएता पनि आफ्नै कार्यकाल भित्र निर्माण सकिने गरी काम सुरु गर्न लागेको पनि अध्यक्ष डिसीले बताए । यस्तै आफ्नो दायित्व जे हो त्यही मात्रै गन्नुपर्ने भन्दै अध्यक्ष डिसीले सङ्घसंस्थालाई सहकार्य गर्दै आफ्नो अनुकूलको गतिविधिहरू गर्न सुझाव दिए । बोर्डले पनि आफ्नो काम मात्रै गर्छ । फिल्म बनाउने, भ्यानिटी भ्यान किन्ने, पोस्ट ल्याब खोल्ने काम बोर्डको नभएको उनले बताए ।

कार्यक्रमका अवसरमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष कृष्ण मल्ल, चलचित्र निर्माता सङ्घका अध्यक्ष नबल खड्का, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, द्वन्द्व कलाकार सङ्घका अध्यक्ष नारायण प्रधानले आफ्नो मन्तव्य राख्नुका साथै शुभकामना प्रकट गरेका थिए । कार्यक्रमको सभापति नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले स्वागत मन्तव्य गरेका थिए भने धन्यवाद ज्ञापन ३६औँ स्थापना दिवस आयोजक समितिका संयोजक तथा नेपाल चलचित्र कलाकार सङ्घका वरिष्ठ उपाध्यक्ष शिवहरि वैरागी नेपालले गरेका थिए ।

नेपाल चलचित्र कलाकार सङ्घको ३६औँ वार्षिकोत्सव गत २३ गते नै परेको भए पनि सो दीन ऋषि पञ्चमी परेका कारण २६ गते सङ्घले कार्यक्रम गरेको थियो । सङ्घले वार्षिकोत्सवको अवसरमा २३ गते चाहिँ वृक्षारोपण कार्यक्रम गरेको थियो । वृक्षारोपण कार्यक्रममा अख्तियार अनुसन्धान आयोगकी आयूत्त माननीय सुमित्रा अमात्य, उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङ अतिथिका रूपमा थिए भने पत्रकार गोविन्द चौलगाईको बिशेष पहलमा एवं निर्देशक लक्ष्मण सुवेदीको समन्वयमा भएको यस वृक्षारोपण कार्यक्रममा कलाकार सहित विभिन्न समुदायको उपस्थिति रहेको कार्यक्रमको संयोजन कलाकार सङ्घका कोषाध्यक्ष सुनिल कटुवाल ले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू