अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०३ | Colorodo: 09:18

अमेरिकामा अत्याधिक माग भएको नेपाली पोशाकलाई एनटीपीपी समावेश गर्न सरकारले पहल गर्नुपर्छ : अध्यक्ष ढकाल

बिआरटीनेपाल २०८१ भदौ २४ गते ६:०२ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा अत्याधिक माग भएका नेपाली तयारी पोशाकलाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम थप गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभएको छ ।सोमबार काठमाडौंमा उद्योग वाणिज्य महासंघद्वारा आयोजित नेपाल–अमेरिकामा व्यापारका सम्भावना र चुनौती विषय कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । अध्यक्ष ढकालले अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम (एनटीपीपी)मा समावेश ७७ वस्तुमा तयारी पोशाक लगायत अमेरिकामा अत्याधिक माग भएका वस्तु थप गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम (एनटीपीपी) अन्तर्गत विभिन्न ७७ प्रकारका नेपाली वस्तु अमेरिका निर्यात गर्दा शुन्य भन्सार महशुल सुविधा प्रदान गर्दै आएको बताउनुभयो ।

अध्यक्ष ढकालले उक्त सूचिमा रहेका वस्तुहरु सोच जस्तो नेपालबाट अमेरिका निर्यात गर्न नसकेकाले निर्यातको लागि बढी सम्भवना भएका तयारी पोसाक लगायतका थप वस्तुहरु (एनटीपीपी) समावेश गर्नको लागि सरकारले निजी क्षेत्रको सहकार्यमा पहल गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नेपाल र अमेरिकाबीच व्यापारमा चूनौतिहरु रहेको बताउँदै एनटीपीपी०बाट नेपालले उच्च प्रतिफल लिन नसकेको दाबी गर्नुभयो ।

अध्यक्ष ढकालले (एनटीपीपी)को म्याद २०२५ डिसेम्बरमा सकिन लागेको भन्दै म्याद थपको लागि पहल गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले अल्पविकसित बाट विकासोन्मुख मुलुकमा २०२६ मा स्तरोन्नति हुँदा नेपाललाई हुने फाइदा र बेफाइदाका विषयमा छलफल गर्न आवश्यक देखिएको धारणा राख्नुभयो । उहाँले नेपालबाट निर्यात हुने वस्तु गलैँचा पहिलो नम्बरमा रहेको भन्दै नेपाली तयारी पोशाकमा ७७ प्रतिशतबाट खुम्चिएर १४ प्रतिशतमा झरेको बताउनुभयो । उहाँले नेपाली तयारी पोशाकको माग अमेरिकामा दिनप्रतिदिन बढी रहेको पनि दाबी गर्नुभयो ।

अध्यक्ष ढकालले निजी क्षेत्रका मुद्दाहरुमा सहजिकरण गरी व्यवसायिक गतिविधिमा वृद्धि हुने बताउनुभयो । उहाँले सरकारले विदेशमा नेपाली उत्पादन निर्यात गर्दा निर्यातकर्ताहरुले फाइदा लिन्छ भन्ने परम्परागत हिसावको सरकारको सोच परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय गतिशिल रुपमा निजी क्षेत्रले काम गर्ने वातावरण मुलुकभित्र नभएको भन्दै सरकारले लगानीको वातारण बनाउन जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू