शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले छात्रवृत्तिमा अध्ययनका लागि रुस जान लागेका विद्यार्थीलाई अभिभावकको अनुमतिमा मात्र जान दिने बताउनुभएको छ ।रुसमा छात्रवृत्तिका लागि जान लागेका विद्यार्थी तथा अभिभावकसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री भट्टराईले अभिभावकले आफ्नो छोराछोरी जानका लागि मन्त्रालयमा लिखित अनुमति र प्रतिबद्धता जनाए मात्र रुस पठाउन सकिने बताउनुभएको हो ।
अहिले रुस र युक्रेनबीच युद्धकै अवस्था रहेकाले अभिभावकले मन्त्रालयसँग आफ्ना छोराछोरी जानका लागि अध्ययन अनुमतिपत्र माग्न आउँछन् भने प्रतिबद्धता जनाएर पठाउन तयार रहेको उहाँले बताउनुभयो । यसमा परराष्ट्र मन्त्रालयले पनि स्वीकृत दिएपछि विद्यार्थीलाई अभिभावकको सहमतिमा मात्रै पठाउन सक्ने उहाँको भनाइ छ । शिक्षा सचिव डा. दीपक काफ्लेले रुसको १२ वटा ठाउँमा ४० जना विद्यार्थी चिकित्साशास्त्र, इञ्जिनियरिङ लगायत विभिन्न विषयमा छात्रवृत्तिमा अध्ययन गर्न जान लागेका जानकारी दिनुभयो । रुसमा रहेको नेपाली दूतावासले पनि ती विद्यार्थी पढ्न जाने ठाउँ सुरक्षित रहेको जनाएकाले मन्त्रालयले अध्ययन अनुमति पत्र दिने प्रक्रिया अघि बढाउन सक्ने उहाँले जानकारी दिनुभयो ।
रुस सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा परराष्ट्र मन्त्रालयले छनोट गरेपछि ४० जना विद्यार्थी रुस जान लागेका हुन् । ती विद्यार्थी दुई वर्षदेखि छ वर्षसम्म चिकित्सा, इञ्जिनियरिङ लगायतका विषय अध्ययन गर्न जाने प्रक्रियामा छन् ।