अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०७ | Colorodo: 07:22

प्रचण्डलाई नेताहरूको सुझाव– पार्टी तपाईँले नै बिगारेकाले अब बनाउन पहल गर्नुहोस्

बिआरटीनेपाल २०८१ भदौ १८ गते ७:३० मा प्रकाशित

प्रदेशमा जारी परामर्श बैठक अन्तर्गत नेकपा माओवादी केन्द्रको मंगलबार तीन केन्द्रीय आयोगको संयुक्त परामर्श समितिको बैठक बस्यो । मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अधिकांश बोल्ने सदस्यहरूले नेतृत्वको कारण पार्टी कमजोर भएको आरोप लगाएका थिए । तीन आयोगमा ७५ जना सदस्य रहेकोमा ५५ जना उपस्थित रहेको लेखा आयोगका अध्यक्ष पेशलकुमार खतिवडाले जानकारी दिनुभयो । तीमध्ये ४० जनाले आ–आफ्ना विचार राखेका थिए । खतिवडाका अनुसार अधिकांशले नेतृत्वको कारण पार्टी कमजोर भएकाले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै थिति बसाल्नुपर्ने बताउनुभएको थियो ।

‘पार्टी नेतृत्वबाट नै बिग्रिएको छ, रूपान्तरण अनिवार्य छ । कार्यकर्तामा व्यापक निराशा छ । व्यवस्थापन अहिलेको ठुलो समस्या हो । जनतासँग नेतृत्व जोडिने कुरा अहिले पनि पुगेको छैन’, उहाँले भन्नुभयो, ‘नेतृत्वको विकल्प खोज्नुपर्ने जनार्दन शर्मा ‘प्रभाकर’को तर्क सान्दर्भिक नै छ । तर अहिले नै विकल्प खोज्नेगरी प्रस्ताव ल्याएको भनेर उहाँले भन्नुभएको छैन । पार्टी प्रचण्डबाट नै बिग्रिएकाले उहाँले नै बनाउने पहल गर्नुपर्छ भन्ने अधिकांशको मत आएको छ ।’ बैठकको सुरुमा अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएका समस्या, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र भावी योजनाबारे ब्रिफिङ गर्नुभएको थियो । बैठक उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बुधबार सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू