अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१० | Colorodo: 10:25

गैरसंवैधानिक रुपमा न्यायाधीशहरुको नियुक्ति गर्न लागेको भन्दै बार एशोसिएसनको धर्ना

बिआरटीनेपाल २०८१ भदौ १६ गते ६:२१ मा प्रकाशित

न्याय परिषद्ले गैरसंवैधानिक रुपमा न्यायाधीशहरुको नियुक्ति गर्न लागेको भन्दै नेपाल बार एशोसिएसनले न्याय परिषद् सचिवालयमा धर्ना दिएको छ ।आइतबार न्याय परिषद्को बैठक बसेर गैरसंवैधानिक रुपमा न्यायाधीशहरुको नियुक्ति गर्न लागिएको भन्दै नेपाल बार एशोसिएसनले बिरोध जनाएको छ ।न्याय परिषद्ले गैरसंवैधानिक रुपमा न्याय परिषद् नियमावली संशोधन गरेर विगत एक वर्षदेखि सोही नियमावलीमार्फत न्यायाधीश नियुक्त गरिरहेको भन्दै एशोसिएसनले धर्ना दिएको हो ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्ले नियमावली संशोधन गरी न्यायाधीशहरुलाई दुईवटा वर्गमा विभाजन गरेको बताउनुभयो । उहाँले मर्यादाक्रमलाई फरक पर्नेगरी कुनै कानून बनाइने छैन भन्ने संविधानको धारा १४१ को उपधारा (३)को व्यवस्थाको बर्खिलाप हुनेगरी न्यायपरिषद्ले नियमावली जारी गरेको भन्दै नियमावली अनुरुप न्यायाधीश नियुक्त हुँदा गैरसंवैधानिक हुने बताउनुभयो ।

अध्यक्ष घिमिरेले आफुहरुले पटक–पटक यस विषयमा ध्यानाकर्षण गराउँदा पनि न्याय परिषद्ले नसुनेको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो । बार एशोसिएसनले गैरसंवैधानिक काम तत्काल रोक्न न्याय परिषद्सँग माग गरेको छ । अध्यक्ष घिमिरेले गैरसंवैधानिक नियमावली खारेज नभएसम्म न्यायाधीश नियुक्ति गर्न नदिने बताउनुभयो । अध्यक्ष घिमिरेले न्याय परिषद् सचिवालयभन्दा बाहिरी ठाउँमा गएर न्याय परिषद्को बैठक गरेमा त्यसको परिणाम राम्रो नहुने चेतावनी समेत दिनुभयो । उहाँले न्याय परिषद् बैठक अवधिभर धर्ना जारी रहने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू