बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक (दोस्रो संशोधन), २०८० मा आर्थिक अपराधमा जेल हाल्ने भन्दा ‘आर्थिक सजाय’को व्यवस्था गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै अधिकांश सांसदहरुले यस्तो प्रश्ताव गरेका हुन् ।सांसदहरुले बैंकिङ कसुर तथा सजाय ऐनमा आर्थिक अपराधमा जेल सजाय तोक्ने व्यवस्थालाई पुनःविचार गर्नुपर्ने बताए । उनीहरुले चेक अनादरको विषयमा बैंकहरुलाई पनि जिम्मेवार बनाउने गरी ऐन ल्याउन आवश्यक रहेको बताए ।
सांसदहरुले बैंकिङ कसुर ऐनलाई ब्याज, मिटरब्याज र चेक अनादरको कारण भएका समस्याहरु समाधान हुने बाटोमा गएको अनुभुति गर्ने तहबाट कानून पास गर्नुपर्नेमा जोड दिए । समिति बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले आर्थिक अपराधमा जेल होइन ‘आर्थिक सजाय’ नै गर्नुपर्ने बताउनुभयो । उहाँले आर्थिक अपराध गर्दा कुनैपनि मानिसलाई जेल हाल्ने नभइ आर्थिक सजायको व्यवस्था गर्नु उपयुक्त हुने उल्लेख गर्नुभयो ।सांसद गौतमले चेक अनादरको मुद्दामा पनि चेक व्यावसायिक वा व्यक्तिगत कस्तो किसिमको हो रु सो को वर्गिकरण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आर्थिक अपराधका विषयमा अहिले तीन महिनाभित्र जाहेरी दिनसक्ने भनिए पनि यसलाई एक वर्षभित्र जाहेरी दिनसक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धु्रवबहादुर प्रधानले पनि चेक अनादर गराएर मुद्दामा जाने प्रवृत्ति धेरै बढेको बताउनुभयो । उहाँले चेक अनादरको विषय आर्थिक लेनदेनको विषय भएकाले चेक अनादर हुँदा मुद्दा हाल्ने र जेल सजाय भोग्नुपर्ने व्यवस्थालाई संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले यस्ता अपराधलाई आर्थिक अपराधको रुपमा जरिवानाका माध्यमबाट जानुपर्ने बताउनुभयो ।सांसद प्रधानले चेक अनादरको मुद्दामा बैंक अगाडि आउँदा मानिसहरु जेल जानु पर्ने अवस्थाहरु आएको भन्दै यो विषयमा बैंकले राम्रो नगरेको बताउनुभयो । उहाँले अहिले मिटरब्याजीको काम बैंकहरुले गरिरहेको भन्दै नागरिकलाई दुःख नहुने गरी र बैंकहरुलाई जिम्मेवार बनाउने गरी ऐन संशोधन हुनुपर्नेमा जोड दिनुभयो ।
नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले पनि बैंकिङ कसुर तथा सजाय ऐनलाई पीडितहरुले न्याय पाउने अपेक्षा अनुभति गर्ने गरी कानून पास गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले ऐन बनाउने मात्रै नभएर जनताले भोगेको समस्या सम्बोधन गर्नेतर्फ समितिले छलफल गरिरहेको बताउनुभयो । उहाँले बैंक धितो मूल्याङ्कन र चेक अनादरको विषयमा तत्काल गुनासो सुन्नेगरी बैंकहरुलाई पनि जिम्मेवार बनाउने गरी ऐन संशोधन गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोसन कार्कीले राष्ट्र बैंकको अनुमति विना सहकारी बैंकहरुले बैकिङ कारोबार गरेमा अनुमति खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्र बैंकसँग स्वीकृत नदिइ सहकारी बैंक सञ्चालन गर्दा पछिल्लो समय सहकारी समस्या आएको बताउनुभयो । उहाँले चेक अनादरको मुद्दामा जरिवानाको व्यवस्था कायम राख्दै कैद सजाय हटाउन आवश्यक रहेको बताउनुभयो ।
नेकपा एमालेका सांसद पदम गिरीले चेक अनादर हुन एक महिना भन्दा बढी लाग्ने अवस्था रहेको बताउनुभयो । उहाँले यस्तो परिस्थितिमा प्रमाणित हुँदा जरिवानासहित जेल सजायको व्यवस्था रहेको भन्दै जेल सजाय खारेज गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले चेक अनादरमा सजाय भन्दा पनि रकम असुलीमा बढी ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।