पलेशा गोवर्धनले नेपाली खेलकुद इतिहासकै सर्वाधिक उच्च सफलता हासिल गरेकी छन्। पलेशाले कीर्तिमानी रूपमा फ्रान्समा जारी पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक काश्य पदक दिलाएकी हुन्। उनी प्रशिक्षक कविराज नेगीको प्रशिक्षणमा पेरिस पुगेकी हुन्। के-४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनि तौल समूह शुक्रबार राति भएको खेलमा पलेशाले कीर्तिमानी रूपमा नेपाललाई काश्य दिलाएकी हुन्। उनी समग्र ओलम्पिक इतिहासमा पदक जित्ने पहिलो नेपाली बनिन्।
कास्य पदकका लागि भएको रिपाचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५-८ ले हराउँदै नेपाललाई ऐतिहासिक पदक दिलाइन्। यसअघि पलेशाले पेरिस पारालिम्पिक्स अन्तर्गत रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा पराजित गरेकी थिइन्। सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग कडा स्पर्धामा १०-८ ले पराजित भएकी थिइन्। त्यसअघि उनले आफ्नो पहिलो खेलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० को फराकिलो अन्तरमा पराजित गरेकी थिइन्।
नेपालले सन् १९६४ को टोकियोमा पहिलो पटक समर ओलम्पिक्समा सहभागिता जनाएको थियो। ६ दशकदेखि नेपालले ओलम्पिकमा पदक जित्न सकेको थिएन्। यो अवस्थामा पारा खेलाडी पलेशाले नेपाललाई पदक दिलाउँदै ऐतिहासिक प्रदर्शन गरेकी हुन्। यसअघि तेक्वान्दोका विधान लामाले भने सिओल ओलम्पिकमा प्रदर्शनी खेलका रुपमा राखिएको तेक्वान्दोमा कास्य पदक जितेका थिए।
यसअघि चीनको ह्वाङझाउमा चौंथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन्। महिला के- ४४ क्याटगोरी अन्तर्गत ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जित्दै इतिहास रचेकी थिइन्। एसियाली पारा खेलकुदमा नेपालले जितेको यो पहिलो पदक थियो। दोस्रो पटक पारालिम्पिक्स खेलिरहेकी पलेशा गत संस्करण भने कास्य पदकबाट चुकेकी थिइन्। उनले टोकियो ओलम्पिक्समा दुई बाउट जितेकी थिइन्। तर कास्य पदक भिडन्तमा चीनकी खेलाडीसँग पराजित भएकी थिइन्। तर यो पटक उनले इतिहास रचेकी हुन्।