शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रालय सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्नेगरी अगाडी बढेको बताउनुभएको छ ।बिहीवार ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेशन एण्ड इम्प्लइमेन्ट लिङ्केज’ मा बोल्दै मन्त्री भट्टराईले विश्व बजारमा प्रतिष्पर्धी जनशक्ति तयार गर्नका लागि सबै तहमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताउनुभएको हो । उहाँले पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालय लागि परेको बताउनुभयो ।
मन्त्री भट्टराईले राष्ट्रलाई योगदान दिनसक्ने जनशक्ति तयार गर्नेगरी पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रलाई योगदान दिन सक्ने जनशक्तिले नै अन्तर्राष्ट्रिय बजारमा योगदान दिन सक्ने उहाँको भनाइ छ । उहाँले सिटीईभिटीलाई पुनःसंरचना गर्नका लागि काम अगाडी बढाइएको भन्दै यसको पाठ्यक्रम र पुनःसंरचनाका लागि आवश्यक काम गर्न दुई वटा समूह बनाएर जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।
मन्त्री भट्टराईले भन्नुभयो– ‘अब शिक्षा मन्त्रालयले हाम्रो पाठ्यक्रमलाई पूरै परिमार्जन गर्नुपर्छ चाहे त्यो जनरल एजुकेशनको होस् । चाहे त्यो साइन्सको होस्, चाहे टेक्नीकल एजुकेशनको होस् । सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्नुपर्छ भन्ने हिसाबले नै हामी अगाडी बढेका छौँ ।’