राष्ट्रियसभा सदस्य बामदेव गौतमले कम्युनिस्ट पार्टीले कांग्रेससँग मिलेर सत्ता सहकार्य गर्नु गलत भएको बताउनुभएको छ । बिहीबार राष्ट्रियसभामा बोल्दै उहाँले शासन सत्ता हातमा लिन जे पनि गर्न नहुने धारणा राख्नुभएको हो। कांग्रेस र कम्युनिस्ट पार्टीको छुट्टाछुट्टै सिद्धान्त र मूल्य मान्यता रहेको भन्दै पदका लागि जे पनि गर्न नहुने गौतमको भनाइ छ ।
‘तपाईं जुन मूल्य मान्यता अगाडि सारेर, जुन योजना बनाएर आउनुभएको छ त्यही बाटोमा हिँड्नुपर्छ, लतारेर ल्याउनुहुन्न, एक छिनको सुख शान्ति लिने, नेतृत्व लिने, नेता बन्ने, प्रधानमन्त्री बन्ने, राष्ट्रपति बन्ने शासन आफ्नो हातमा ल्याउन जे पनि गर्ने ?’ नेता गौतमले भन्नुभयो । विगतमा निरंकुश राजतन्त्र अन्त्य गर्न र संविधानसभाबाट संविधान बनाउन कांग्रेस र कम्युनिस्ट मिल्नु ठीक भए पनि सरकार चलाउन मिल्नु उपयुक्त नहुने उहाँले बताउनुभयो ।
‘जसबेला मिल्नुपर्ने थियो, त्यसबेला हामी मिल्यौँ । निरंकुश राजतन्त्रको अन्त्य गर्नका लागि हामी मिल्यौँ । संविधान सभाको आयोजना गर्नका लागि हामी मिल्यौँ । एकदम सही छ । निर्वाचनमा जाँदा पनि मिलेको छ, सरकार चलाउँदा पनि मिलेको छ । चुनाव घोषणापत्र छुट्टाछुट्टै ल्याएको छ । जनताले कसरी जाँच्ने रु’ गौतमले प्रश्न गर्नुभयो । कांग्रेससँग मिल्नुपर्छ भनेर कम्युनिस्टको कुनै सिद्धान्तमा भनेको भए आफूलाई देखाइदिन पनि उहाँले आग्रह गर्नुभयो । ‘कम्युनिस्ट पार्टीको सिद्धान्त छ, हिँड्दा पनि, बोल्दा पनि, काम गर्दा पनि सिद्धान्तले गाइड गर्नुपर्छ’, नेता गौतमको भनाई थियो ।