शेयर बजार आज पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार नौ सय ७४ दशमलव ४६ विन्दुमा पुगेको छ ।नेप्सेले आज तीन पटकसम्म तीन हजार विन्दु छोए पनि अन्तिममा टिक्न सकेन । नेप्से आज दिउँसाे १२ बजेर ४६ मिनेटमा तीन हजार १८ विन्दुसम्म पुगेकाे थियाे । नेप्सेले हिजो पनि तीन हजार विन्दु छोएर फर्किएको थियो ।आज लगानी, उत्पादन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज तारागाउँ रिजेन्सी होटल, नारायणी विकास बैंक, ज्योति विकास बैंक, कर्पाेरेट विकास बैंक, सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार समान्य बढेको दिन सिद्धार्थ बैंक डिबेन्चर २०८३ को शेयर भने १० प्रतिशतले घटेको छ । आज तीन सय ३३ वटा कम्पनीका चार करोड नौ लाख कित्ता शेयर १९ अर्ब १६ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै साइन रेसुङ्गा विकास बैंकको एक अर्ब रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।