पाकिस्तानको संसद् भवनमा मुसाले महत्त्वपूर्ण कागजात नष्ट गरेपछि समस्या हुन थालेको छ । संसद्मा मुसाको सङ्ख्या बढेसँगै सिनेट र राष्ट्रिय सभाका विभागहरूमा रहेका धेरै महत्त्वपूर्ण र गोप्य फाइलहरू नष्ट गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
मुसाले तार काटेर कम्प्युटरमा समेत क्षति पुर्याइरहेका छन् । मुसाले समस्या पार्न थालेपछि बिरालो किन्न सरकारले १२ लाख पाकिस्तानी रुपैयाँको बजेटसमेत विनियोजन गरेको छ । मुसा निर्मूल गर्न निजी विज्ञको सहयोग लिने योजना पनि रहेको बताइएको छ ।
पाकिस्तानको संसद्ले यति बेला मुसाका कारण ठूलो समस्याको सामना गरिरहेको राष्ट्रिय सभाका प्रवक्ता जफर सुल्तानलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । सिनेटमा प्रतिपक्षी दलको नेताको कार्यालयसँगै धेरै राजनीतिक दल र स्थायी समितिको बैठक पनि बस्ने गरेकामा सबैलाई समस्या भएको समाचारमा जनाइएको छ ।