अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८ | Colorodo: 23:23

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

बिआरटीनेपाल २०८१ भदौ ५ गते ४:३९ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा बुधबार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको हो । कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई पनि व्यवस्थित गर्नुपर्ने भएकाले राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको बताउनुभयो । उहाँले सिमित श्रोत, साधनका कारण आवश्यकताअनुसारको उपकरणहरु खरिद गर्नसक्ने अवस्था नरहेको भन्दै भएका उपकरणहरुलाई बढी भन्दा बढी कसरी प्रयोगमा ल्याउन सकिन्छ रु भन्ने हेतुले आवष्कार केन्द्रसँग सम्झौता गरेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले प्रयोगमा नआएर थन्किएका उपकरणहरुलाई मर्मत गरेर प्रयोगमा ल्याउनसके ठूलो धनराशीको खर्च पनि नहुने र राज्यको सिमति खर्चभित्र उपकरणहरु व्यवस्थापन हुने बताउनुभयो । उहाँले थन्किएको उपकरणहरुको व्यवस्थापन गर्नसके अस्पताल पनि सफा हुने र अस्पताललाई आवश्यक उपकरणहरु पनि प्राप्त हुने बताउनुभयो । मन्त्री पौडेलले संघीय १७ वटै अस्पतालमा उपकरण व्यवस्थापनमा महत्वपूर्ण काम हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रले थप अर्को जिम्मेवारी पाएको बताउनु भयो । उहाँले संघीय सरकारअन्तर्गत रहेका अस्पतालहरुको बायोमेडिकल इक्वीपमेण्टहरु, बिरामी जाँच गर्ने उपकरणहरुको रेखदेख गर्ने, मर्मत गर्ने र त्यसको अवस्था बुझेर मर्मत गर्नसक्नेलाई मर्मत गर्ने बताउनुभयो । उहाँले आफूहरुको लागि यो ठूलो जिम्मेवारी भएको र इक्वीपमेण्टलाई राम्रो कण्डिसनमा राखेर बेलैमा उपलब्ध गराउनसके मान्छेको ज्यान बचाउन सकिने बताउनु भयो ।

मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गर्नुभयो । अस्पतालमा खेर गइरहेका उपकरण मर्मत गर्नका लागि सघाउन मन्त्री पौडेलले केही दिनअघि पुनसँग आग्रह गर्नुभएको थयो । त्यसलगत्तै मन्त्रालयले उनी नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो । अब केन्द्रले हाल मन्त्रालयअन्र्तगतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनेछ । त्यसपश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरुले मर्मत गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू