अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०१ | Colorodo: 20:16

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता

बिआरटीनेपाल २०८१ भदौ ३ गते ५:३० मा प्रकाशित

भारत भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री आरजु राणा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । उहाँहरूबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको हो । भेटपछि परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री जयशंकरसँग फलदायी भेट भएको बताउनुभएको छ । उहाँले भेटमा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ । यो भ्रमणले नेपाल र भारतबीचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने उहाँको विश्वास छ ।

यस्तै भारतीय विदेशमन्त्री जयशंकरले द्विपक्षीय भेटमा ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकासलगायतका बहुआयामिक सहकार्यका बारेमा छलफल भएको बताउनुभयाे । उहाँले नेपालले भारतलाई झन्डै एक हजार मेगावाट बिजुली निर्यात गर्ने भएकोमा खुशी लागेको र यो एउटा नयाँ कोशेढुङ्गाको रूपमा रहेको उल्लेख गर्नुभयाे । आफूहरूकाे छिमेकी पहिलो नीति र विशिष्ट नागरिक–नागरिकबीचको एवम् सांस्कृतिक नाताले दुई देशकाे सम्बन्धलाई अघि बढाएको विदेशमन्त्री जयशंकरकाे भनाइ छ ।

परराष्ट्रमन्त्री राणाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने कार्यतालिका छ । हिजो नयाँ दिल्ली जानुभएकी पराष्ट्रमन्त्री राणा आउँदो बिहीवार स्वदेश फर्किने कार्यक्रम छ । उहाँको यो भ्रमण नेपाल–भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू