अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१९ | Colorodo: 23:34

मिलेर संविधान बनाएका हौं, परिमार्जन पनि मिलेरै गर्छौं- प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०८१ साउन ३० गते ७:०३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संसोधन सबै राजनीतिक दलहरूको सहमतिमा गरिने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले कठीन परिस्थितिमा पनि सबै दलहरू मिलेर संविधान निर्माण गरिएकाले अहिले परिमार्जन गर्दा पनि सबै मिलेर गर्ने बताउनुभएको हो । ‘संविधानप्रति कसैलाई माया लागेको कसैलाई नलागेको छँदैछैन। मिलेर बनाएको हो फेरि मिलेर कार्यान्वयन गर्छौं र परिमार्जन गर्छौं,’ उहाँले भन्नुभयो।प्रधानमन्त्री ओलीले मनलाग्दी ढंगले संविधान संसोधन गर्न नखोजिएको पनि बताउनुभयो। प्रधानमन्त्री ओलीले लोकतन्त्र र सामाजिक न्यायप्रति सरकार प्रतिबद्ध भएको र आधारभूत विषयहरू संघीयता र लोकतन्त्रलाई परिमार्जन गर्न नखोजिएको प्रष्ट पार्नुभयो । उहाँले विकास, समृद्धी र जनतालाई सेवा दिने विषयमा बाधक बनेको विषय मात्रै संसोधन गर्न लागिएको बताउनुभयो।

‘जहाँ विकासका लागि बाधक बन्छ त्यहाँ संसोधन गरिने हो। जहाँ जनतालाई सेवा दिन बाधा हुन्छ या समयानुकूल ढंगले अनुभवका आधारमा केही कुरामा परिमार्जन गर्नुपर्छ भने परामर्शका साथ सहमतिका साथ गरिनेछ,’ प्रधानमन्त्रीले भन्नुभयो । उहाँले संसोधनका लागि जसोतसो दुई तिहाई पुर्याऔं  भन्ने पक्षमा पनि सरकार नरहेको बताउनुभयो। ‘संविधानको सर्वस्वीकार्यताको पक्षहरूलाई ध्यानमा राखेर सर्वस्वीकार्यता बनाउने प्रयास हो,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यसका लागि दलहरूका बीच, जनस्तरमा संविधानविदहरूका बीचमा छलफल गर्नुपर्ने विभिन्न आफ्ना र अरू देशले के गरेका छन् त्यसलाई हेर्छौं। तर अरूको नक्कल होइन हाम्रो आवश्यकता अनुसार गर्छौं।’

प्रधानमन्त्रीले सङ्घीयता र गणतन्त्रका मूल्य, मान्यताविपरीत संविधान संशोधन हुन नसक्ने स्पष्ट समेत पार्नुभयो । स्वस्थ्य प्रतिस्पर्धासहितको लोकतान्त्रिक प्रणाली आफूहरूले सङ्घर्ष गरेर र रोजेर ल्याएकाले देश र जनताका हितलाई सर्वोपरि राखेर प्रणालीलाई स्थापित गर्न सरकार कटिबद्ध रहेको उहाँको भनाई थियो ।

प्रतिक्रिया