अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१३ | Colorodo: 01:28

१ किलाे ४ सय ग्राम कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ

बिआरटीनेपाल २०८१ साउन ३० गते ६:२३ मा प्रकाशित

नेपाल प्रहरीले एक किलो चार सय ग्राम कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तासोपोईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोको टोलीले काठमाण्डाै महानगरपालिका–१० नयाँ बानेश्वमा रहेकाे एक होटलमा बसेका तान्जेनियन नागरिक जुमाको झोलाभित्र लुकाएर राखेको ८० क्याप्सुल कोकिन बरामद गरेको छ । जुमाले त्याे कोकिन भारतीय नागरिकलाई बिक्री गर्ने क्रममा भारतीय नागरिकलाई समेत पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

बरामद कोकिनको अवैध बजार मूल्य झन्डै तीन करोड ८७ लाख रुपैयाँ हुन आउने ब्युरोले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काठमाण्डाैबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू