अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:११ | Colorodo: 06:26

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रतिक्रिया – आन्दोलनमा विदेशी शक्तिको हात

बिआरटीनेपाल २०८१ साउन २७ गते ५:१८ मा प्रकाशित

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो हार भएको स्वीकार गर्नुभएको छ । यद्यपि, उहाँले आन्दोलनमा विदेशी शक्तिको हात रहेको आरोप लगाउनुभयो । आफ्नो पार्टी अवामी लिगका समर्थकहरुलाई पठाएको सन्देशलाई उदृत गर्दै भारतको द प्रिन्टले लेखेको छ, ‘मैले सेन्ट मार्टिन र बे अफ बंगाल अमेरिकालाई दिएको भए म सत्तामै रहन सक्थें ।’ बंगलादेश र भारतका सञ्चारमाध्यमहरुले यसलाई देश छाडेपछि हसिनाको पहिलो प्रतिक्रिया भनेका छन् । अमेरिकासँग लामो समयदेखि हसिनाको सम्बन्ध तनावपूर्ण थियो ।

उहाँले गएको जनवरीमा एक जना गोरा व्यक्तिले एयरबेसको बदलामा सहजै शक्ति दिने बताएको अभिव्यक्ति दिनुभएको थियो । द प्रिन्टका प्रतिनिधिले हेरेको भनिएको वक्तव्यमा हसिनाले अन्तरिम सरकारलाई विदेशी शक्तिबाट प्रयोग नहुनसमेत चेतावनी दिइएको समाचारमा उल्लेख छ । २४ साउनमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति मुहम्मद शाहबुद्दिनले युनुसको नेतृत्वमा १७ सदस्यीय सल्लाहकार परिषद् गठन गर्नुभएको थियो ।

दुई महिनादेखि चलेको विद्यार्थी आन्दोलनले उग्र रुप लिएपछि २१ साउनमा राजीनामा दिँदै हसिना प्रधानमन्त्री निवासबाटै हेलिकप्टरमार्फत देशबाहिर निस्किनुभएको थियो । हाल भारतमा रहेकी उहाँले आफ्नो वक्तव्यमा भन्नुभउको छ, ‘मैले राजीनामा दिएँ ताकी मैले शवहरुको जुलुस देख्नु नपरोस् । उनीहरु विद्यार्थीको शरीरमार्फत शक्तिमा आउन चाहन्थे, मैले त्यसलाई अनुमति दिइन ।’ ‘म देशमा थिएँ भने अहिले झन् धेरैको मृत्यु हुन्थ्यो होला, धेरै सम्पत्तिमा क्षति पुग्थ्यो होला’, हसिनाले भन्नुभएको छ । उहाँले भारतमा अर्को साता सञ्चारमाध्यमहरुसँग आफ्नो भनाइ राख्ने समेत अनुमान गरिएको छ ।आरक्षणको विरोधमा बंगलादेशमा भएको आन्दोलनमा कम्तीमा ३०० जना मारिएका थिए ।

हसिनाले वक्तव्यमा आफू छिट्टै फर्किने भनेको समेत द प्रिन्टले उल्लेख गरेको छ । ‘म छिट्टै फर्किन्छु, हार मेरो हो, तर जित बंगलादेशका नागरिकहरुको हो’, उहाँले भन्नुभएको छ, ‘मैले आफैंलाई हटाएँ, तर तपाईंहरुको जितका साथ आएँ । तपाईंहरु मेरो शक्ति हुनुहुन्थ्यो, तपाईंहरु मलाई चाहनु हुन्थेन । त्यसैले मैले छाडेँ, राजीनामा दिएँ ।’ उहाँले अगाडि भन्नुभएको छ, ‘मेरा जति पनि कार्यकर्ता छन्, उनीहरुको मनोबल गिर्दैन, अवामी लिग पटकपटक उठेको छ ।’ हसिनाले आफ्नो भनाइलाई बंग्याएर प्रस्तुत गरिएको आरोप पनि लगाउनुभयो ।

‘म मेरा युवा विद्यार्थीहरुलाई दोहोर्‍याउन चाहन्छु, मैले कहिल्यै रजाकर भनेको थिइनँ, मेरो शब्दहरु बंग्याइए’, उहाँले भन्नुभएको छ, ‘एउटा समूहले तपाईंहरुको खतराको फाइदा उठायो ।’ सन् १९७१ को युद्धमा बंगलादेश स्वतन्त्र हुनुअघि पाकिस्तानी सेनालाई सहयोग गर्ने समूहलाई रजाकार भनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू