बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदको सत्ता ढलेसंगै नेपालले बंगलादेश निर्यात गर्न खोजेको ४० मेगावाट बिजुली पनि अनिश्चित बनेको छ । गत साउन १३ मा नेपाल–भारत–बंगलादेशका मन्त्रीहरूको उपस्थितिमा हस्ताक्षर कार्यक्रम थियो । तर, हिंसा भड्किएपछि बंगलादेशको अनुरोधमा सम्झौताको कार्यक्रम रद्द गरिएको थियो । केही समयका निम्ति स्थगित सम्झौता कार्यक्रम हसिनाको सरकार हटेसँगै सम्झौता मिति अनिश्चित बनेको हो । बंगलादेशमा सत्ता पल्टिएसँगै यसै वर्षायाममा तेस्रो मुलुकमा समेत बिजुली पठाउँदै ‘ब्रेक थ्रू’ गर्ने नेपालको तयारीमा धक्का पुगेको हो ।
बंगलादेश बिजुली निर्यात निम्ति झण्डै चार वर्षदखि प्रयास भइरहेको थियो । नेपाल र बंगलादेश सीमा नजोडिएका कारण भारतीय भूमि हुँदै बिजुली लैजानुपर्ने भएका कारण भारतको साथ अनिवार्य भयो । दुवै देशले भारतलाई मनाउँदै निर्यात गर्ने तय भएको थियो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तय भइसकेको सम्झौता बंगलादेशको अवस्थाको कारण अनिश्चित बनेको बताउनुहुन्छ ।
“उताको अवस्थाले झन् अनिश्चित पो बनायो । अब कहिले हुन्छ भन्न सकिन्न । उता बन्ने नयाँ सरकार कसरी आउँछ, त्यसमा भर पर्छ,” उहाँले भन्नुभयो, “यसअघि सबै सम्झौता भइसकेको थियो । अब उताको सरकारले कस्तो नीति लिन्छ त्यसमा भर पर्छ ।” चाँडै सम्झौता भएको खण्डमा अझै पनि यसै वर्षायाममा निर्यात हुने सम्भावना भने जीवित रहेको घिसिङ बताउनुुहन्छ ।