पूर्वप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार लामो समय नटिक्ने बताउनुभएको छ । माओवादीको कोशी प्रदेश समितिको विराटनगरमा मङ्गलवार सम्पन्न सातौँ पूर्ण बैठकमा मन्तव्य दिँदै उहाँले यस्तो बताउनुभएको हो । ‘यो सरकार धेरै जानेवाला छैन । यद्यपि हामी सरकारमा जान कुनै हिसाबले प्रयास गर्दैनौँ । सरकार नै हामीलाई खोज्दै आउँला कि भन्ने डर छ । तर, म अब प्रधानमन्त्री बन्दिनँ । उनीहरू फतक्क झर्नेवाला छन्,’ प्रचण्डले भन्नुभयो ।
प्रचण्डले आफू ३५–३६ वर्षदेखि नेतृत्वमा रहेको र यो अवधिमा भएका सबै घटनाक्रमको बारेमा जानकार रहेको पनि बताउनुभयो । उहाँले अझै लामो समय आफू नै अध्यक्ष हुनुपर्छ भन्ने नरहेको तर, त्यो खालको टिम निर्माण नहुँदा अप्ठ्यारो भएको बताउनुभयो । ‘३५–३६ वर्षदेखि म पार्टीको नेतृत्वमा छु । यो अवधिमा जे भयो म जानकार छु । म अध्यक्ष बनिराख्नु पर्ने कुनै मोह छैन । सबै छोडेर इतिहास लेख्न मन छ । तर, पार्टी अगाडि बढाउने त्यो टिम बनाउन पाए छोडिदिन्थेँ । तयारी नगरी छोड्दा पलायन भएको आरोप लाग्न सक्छ,’ प्रचण्डले भन्नुभयो ।
प्रचण्डले भ्रष्टाचारको विरुद्धमा अभियान चलाउँदा देशमा उभार आएको समरण गर्नुभयो । आफू प्रधानमन्त्री हुँदा चलाएको नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास र बाँसबारीको जग्गा काण्डमा प्रहार गर्दा दलालहरू आत्तिएको र सरकार ढालेको उहाँले दावी गर्नुभयो । सरकार ढल्नुमा दुई जना बिचौलिया पक्राउ पर्नु र धितो पत्र बोर्डको अध्यक्ष चयन पनि कारण भएको उहाको भनाई छ ‘अन्तिम समयमा दुई जना पक्राउ परेका थिए नि रु,’ बेचन झा र प्रतीक थापातिर लक्षित गर्दै प्रचण्डले भन्नुभयो, ‘त्यसपछि कनेक्सन बालकोट र बुढानीलकण्ठ तिर सोझियो । त्यसपछि त सरकार ढल्यो ।’
अर्को कारण बताउँदै उहाँले थप्नुभयो, ‘धितो पत्र बोर्डमा अर्बौँको चलखेल हुने रहेछ । त्यहाँ सेटिङ डरलाग्दो हुँदो रहेछ । शेरबहादुरसँग गठबन्धन हुँदा उनले पनि नामै तोकेर फलानो नियुक्ति गरे भन्थे । पछि केपीसँगको गठबन्धनपछि उनले पनि यही भन्ने । केपीले त यो नियुक्ति नगरे समीकरण नरहने भनेर खुल्ला चुनौती दिएका थिए । त्यो नाम शेरबहादुर र केपी दुवै जनाले लिएको एउटै नाम थियो । तर, ती मान्छे अनियमितता र लुटपाट मच्चाउने खालका थिए । त्यसकारण मैले नियुक्ति प्रक्रिया नै रद्द गरिदिएँ ।’ त्यसपछि जुन जुन घरमा मिटिङ भयो र सरकार ढाल्ने विषयमा कसको घरमा हस्ताक्षर भयो भनेर सबै सार्वजनिक भएको प्रचण्डले बताउनुभयो ।
आफू प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री भएको बेला नियुक्त गरेका कुलमान घिसिङले देशमा लोडसेडिङको अन्त्य गरेको भए पनि अहिले उनैलाई हटाउन सरकारले तयारी गरिरहेको प्रचण्डले आरोप लगाउनुभयो। ‘अब कुलमानलाई जसरी पनि हटाउने गरी सरकार लागेको छ । दलालसँग बसेर माइरेको कुराले पनि प्रस्ट कुरा भयो,’ उहाँले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई लक्षित गर्दै भन्नुभयो। अध्उक्ष प्रचण्डले अब सदनमार्फत पार्टीले पाउने हकको विषयमा जमेर लड्ने बताउनुभयो । ‘राजनीतिक परिस्थितिले माओवादी अहिले प्लसको अवस्थामा रहेको उहाँले बताउनुभयो । संवैधानिक परिषद्मा काँग्रेस एमालेले एकलौटी गर्न नसक्ने, संविधान संशोधन गर्न राष्ट्रियसभामा उनीहरूको बहुमत नपुग्ने र त्यहाँ बहुमत पुर्याउन अझै डेढ वर्ष लाग्न सक्ने उहाँले बताउनुभयो । त्यो समयावधि आफ्नो पार्टीको लागि प्लस पोइन्ट रहेको प्रचण्डको भनाई छ । आफ्ना सांसदहरुले सरकारलाई सदनबाट पेल्दै गएको बताउँदै आगामी दिनमा त्यसलाई अझै सशक्त पारिने उल्लेख गर्दै उहाँले आफ्नो जीवन कालमा पार्टी बनाउने अन्तिम मौका आउको बताउनुभयो ।