गृहमन्त्री रमेश लेखकले बाढी–पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । सोमबार बिहान बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २४ औँ बैठकमा गृहमन्त्री लेखकले उक्त निर्देशन दिनुभएको हो । महोत्तरी, बाँके, कास्की, संखुवासभा, कञ्चनपुर, भोजपुर चितवनलगायतका बाढी–पहिरो प्रभावित क्षेत्रमा चाँडोभन्दा चाँडो जोखिमबाट जोगाउने उपाय निकाल्न उहाँले जोड दिनुभयो ।
यस्तै गृहमन्त्री लेखकले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा कार्यविधि २०८१’ बनाउँदा विदेशी संस्थाबाट लिने साहयता र राष्ट्रिय सुरक्षाको विषयमा गम्भीर बन्न निर्देशन दिनुभयो । ‘विपद्मा साहयता लिने कुरामा विदेशी संस्थाहरूको वान डोर इन्ट्री होस् । उहाँहरुबाट चाँडोभन्दा चाँडो सहयोग लिन सकियोस् । कुनै पनि विदेशी संस्थाले हामी कहाँ काम गर्छ भने त्यो संघको जानकारीमा हुनुपर्यो,’ लेखकले भन्नुभयो, ‘वान डोरबाट जानुपर्यो भन्ने मलाई लाग्छ । कार्यविधि बनाउँदा यतातिर गम्भीरतापूर्वक हेर्नु होला । साथै यसमा राष्ट्रिय सुरक्षाको विषय पनि अत्यन्त संवेदनशील ढंगले जोडिने गर्छ । त्यसलाई पनि ध्यान दिनुपर्ला ।’
गृहमन्त्री लेखकले आगामी दिनमा कार्यसमिति बैठकमा दैनिक प्रशासनीय विषय भन्दा नीतिगत विषयलाई एजेण्डा बनाउन निर्देशन दिनुभयो । बैठकमा उठेका विषयको कार्यान्वयनमा गम्भीरताका साथ लाग्न पनि गृहमन्त्री लेखकको निर्देशन थियो । प्राधिकरणले बैठकमा २०८१ को मनसुनले पारेको प्रभावबारे जानकारी गराइएको थियो । गृहमन्त्री लेखकको अध्यक्षमा बसेको बैठकमा विभिन्न मन्त्रालयका सचिव, तीन वटै सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।