सरकारले विद्युत् प्राधिकरणकाे सञ्चालक समितिमा ऊर्जा मन्त्रालयका पूर्वसचिव देवेन्द्र कार्की र विद्युत् विकास विभागका पूर्वमहानिर्देशक महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेकाे छ । सरकारलाई असहयोग गरेको भन्दै ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयले कपिल आचार्य र भक्तबहादुर पुनलाई पदबाट हटाउँदै कार्की र गुरुङलाई नियुक्त गरेकाे हाे । आचार्य र पुनले उद्याेगमा बिजुली जाेड्न असहमति जनाएपछि ऊर्जामन्त्री दीपक खड्काले अस्ति शुक्रवार नै दुवै जनालाई बर्खास्त गरेर देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गर्नुभएको पाइएको छ ।
झन्डै आठ अर्ब रुपैयाँ विद्युत् महसुल बुझाउन बाँकी रहेका ६ वटा उद्योगको बिजुली विद्युत् प्राधिकरणले काटिदिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले ती उद्योगमा तत्कालै बिजुलीको लाइन जोड्न निर्देशन दिएपछि साउनको ७ गते प्राधिकरणको सञ्चालक समितिको बैठक बसेको थियो । तर राज्यले पाउनुपर्ने अर्बाैँ रुपैयाँ महसुल नबुझाएका उद्योगको लाइन जोड्न नहुने भन्दै सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनले असहमति जनाउनुभएको थियो ।