प्रधानमन्त्री शेख हसिनाको सरकारले प्रदर्शनकारीमाथि गरेको दमनको विरोधमा विद्यार्थी नेताहरूले शनिबार देशव्यापी नागरिक अवज्ञा अभियानको घोषणा गरेका छन् । देशव्यापी नागरिक अवज्ञा अभियान आइतबारदेखि शुरू गर्ने उनीहरूले जनाएका छन् । गत महिनालाई प्रधानमन्त्री हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा हिंसा भएको महिनाका रूपमा हेरिएको छ । निजामती सेवामा आरक्षणको विरोधमा गरिएको आन्दोलनका क्रममा २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ ।
केही समयका लागि सैनिक तैनाथीले सुव्यवस्था कायम गरे पनि मुस्लिम बहुल राष्ट्र बङ्गलादेशमा नमाज प्रार्थनापछि ठूलो सङ्ख्यामा भीड सडकमा उत्रिएको थियो र सरकारलाई थप सहुलियतका लागि दबाब दिन विद्यार्थी नेताहरूले अवज्ञा आन्दोलनमा व्यापक सहभागिता जनाउन आग्रह गरेका छन् । प्रारम्भिक विरोध प्रदर्शनको आयोजना गर्ने समूह ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ले समर्थक तथा शुभचिन्तकलाई आइतबारदेखि देशव्यापी रूपमा असहयोग आन्दोलन सुरु गर्न आग्रह गरेको हो ।
समूहका असिफ महमुदले एएफपीसँग भने, ‘कर र युटिलिटी बिल नतिर्ने, सरकारी कर्मचारी पनि हड्तालमा सहभागी हुने र बैङ्कहरूमार्फत विदेशी रेमिटेन्स भुक्तानी रोक्ने जस्ता माग समावेश गरिएको छ ।’ विद्यार्थीहरूले गत महिना भएको हिंसाका लागि हसिनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र उहाँका केही मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने माग गरिरहेका छन् । उनीहरूले आन्दोलनलाई कारण देखाउँदै सरकारले बन्द गरेका देशभरका विद्यालय र विश्वविद्यालयहरू तत्काल पुनः सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।