अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०९ | Colorodo: 00:24

सरकारले प्रदेश प्रमुखको गरिमा राख्न सकेन : प्रदेश प्रमुख शेरचन

बिआरटीनेपाल २०८१ साउन १५ गते ८:०७ मा प्रकाशित

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले केन्द्र सरकारले प्रदेश प्रमुखको गरिमा राख्न नसेकेको प्रतिक्रिया दिनुभएको छ । केन्द्रमा सत्तासमीकरण परिवर्तन हुनेबित्तिकै प्रदेश प्रमुखलाई विना जानकारी पदमुक्त गर्ने परिपाटी गलत भएको उहाँले बताउनुभयो । सोमबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । बैठकले लुम्बिनीको प्रदेश प्रमुखमा कृष्णबहादुर घर्तीमगरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारको उक्त निर्णयपछि आज, मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै शेरचनले प्रदेश प्रमुखको सम्मान नभएको भन्दै गुनासो गर्नुभएको हो । शेरचनले कुनै कारण विना प्रदेश प्रमुख पदमुक्त गर्ने कुरा गलत भएको बताउनुभयो । ‘अहिले मात्रै होइन, विगतदेखि नै गलत अभ्यास भइरहेको छ । संविधानको उल्लंघन वा प्रदेश प्रमुखले विधि मिचेको भए पो पदमुक्त गराउने हो,’ शेरचनले भन्नुभयो, ‘विना कारण पदमुक्त गर्ने निर्णय अब सच्याउनुपर्छ ।’ उहाँले केन्द्र सरकारले राजीनामाको मौकासमेत नदिएको बताउनुभयो ।

प्रदेश प्रमुखबाट बाहिरिंदै गर्दा शेरचनले राजनीतिक टिप्पणीसमेत गर्नुभएको छ । उहाँले प्रदेशको सरकार गठनमा प्रदेश नै निर्णायक हुनुपर्ने भनाइ राखे । ‘केन्द्रमा समीकरण फेरिने कुरा एउटा हो । तर प्रदेशको आफ्नै छुट्टै अस्तित्व र परिवेश हुन्छ,’ शेरचनले भन्नुभयो । शेरचनले प्रदेशको मन्त्री पनि केन्द्रले टुङ्ग्याउने परिपाटी गलत भएको प्रतिक्रिया समेत दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू