अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१३ | Colorodo: 10:28

बंगलादेशका प्रदर्शनकारीविरुद्ध ‘अत्यधिक बल’ प्रयोग गरेकोमा ईयूको चिन्ता

बिआरटीनेपाल २०८१ साउन १५ गते ८:०४ मा प्रकाशित

कम्तीमा २०६ जनाको ज्यान जाने गरी भएको हिंसापछि युरोपेली संघ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले मंगलबार बंगलादेशमा प्रदर्शनकारीहरूविरुद्ध ‘अत्यधिक बल’ प्रयोगको निन्दा गरेका छन् । सरकारी सेवामा आरक्षण प्रणालीको विरोधमा भएको विद्यार्थीहरूको प्रदर्शनले हिंसात्मक रूप लिएको थियो । प्रहरी र अस्पतालको तथ्यांकअनुसार घटनामा प्रहरी अधिकारीहरूको पनि ज्यान गएको थियो ।

बोरेलले बंगलादेशको हिंसाले निम्त्याएको मृत्यु, यातना, सामूहिक गिरफ्तारी र सम्पत्तिको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले अनुसन्धान गर्न र जिम्मेवारलाई न्यायको कठघरामा ल्याउन आह्वान गरेका छन् । “कानुन प्रवर्तन अधिकारीहरू प्रदर्शनकारी र अन्यविरुद्ध अत्यधिक र घातक बल प्रयोग गरेको थुप्रै उदाहरणका लागि पूर्ण जवाफदेही हुनुपर्छ,” उनले एक विज्ञप्तिमार्फत भनेका छन्, “हामी यस संकटको समयमा जिम्मेवार अधिकारीको कार्यहरू नजिकबाट पछ्याइरहेका छौँ । ईयू–बंगलादेश सम्बन्धको आधारभूत कुरालाई ध्यानमा राख्दै सबै मानवअधिकारको पूर्ण सम्मान हुने अपेक्षा गर्दछौँ ।”

प्रधानमन्त्री शेख हसिनाको १५ वर्षको कार्यकालमा भएको यो सबैभन्दा घातक झडप हो । तर, उनको सरकारले व्यापक विरोधविरुद्ध गिरफ्तारी, सेना परिचालन र राष्ट्रव्यापी इन्टरनेट कटौतीजस्ता विभिन्न तरिका अपनाएर व्यवस्था पुनर्स्थापित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू