आज बिहान उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटमा गएको पहिरोमा परेर एकै घरपरिवारका तीन जनासहित पाँच जना बेपत्ता भएका छन् । पहिरोले स्थानीय जीतबहादुर गुरुङको एउटा घर र कृषि फर्म पहिरोले बगाएको हो । पहिरोमा परेर बेपत्ता हुनेमा जीतबहादुर र उनकी श्रीमती ३५ वर्षीया कान्छी माया, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, सोही वडाको सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र आरुघाट गाउँपालिका ७ आरुपोखरीका २४ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बेपत्ता हुनेमा एकै घरपरिवारका तीन जना र बाँकी दुई जना त्यही फर्ममा काम गर्ने रहेको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीय मिलेर उनीहरुको खोजी भइरहेको र अन्य दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । सिङ्लाका ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय थमबहादुर गुरुङको उद्धार गरिएको हो । उपचारका लागि उनीहरुलाई हेलिकोप्टरबाट काठमाडौंको शिक्षण अस्पताल लगिएको छ ।