अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२० | Colorodo: 16:35

रोकिएको तीन वर्षपछि गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण हुँदै

बिआरटीनेपाल २०८१ साउन ८ गते ६:५६ मा प्रकाशित

२०७८ साउन २२ गतेबाट निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तीन वर्षपछि पुनः सुरु हुने भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं। १५ रामपुरमा बन्न लागेको रंगशालाको बाँकी निर्माण आगामी साताबाट सुरु हुने भरतपुर महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यले जानकारी दिनुभयो । रंशगाला निर्माणको बाँकी काम गर्न निर्माणको ठेक्का पाएको हिमालयन, कालिञ्चोक बीबीआर जेभीले काम सुरु गर्ने तयारी गरेको इन्जिनियर आचार्यले जानकारी दिनुभयो ।

‘निर्माण कम्पनीका प्रतिनिधि र इन्जिनियरहरू बुधबार भरतपुर आउनुहुन्छ, बुधबार र बिहीबार फिल्ड भिजिट गछौं, उहाँहरूले आफ्नो साइट अफिस तयार गर्नुहुन्छ,’ इन्जिनियर आचार्यले भन्नुभयो । साइट अफिसको मर्मत, कामदार भवन मर्मत, रंगशालाभित्रको सरसफाइ लगायतका काम गरेपछि पूर्वाधारको काम सुरु हुने उहाँले जानकारी दिनुभयो । महानगरपालिकाको एक कार्यालय पनि त्यहीँ रहने छ ।

सुरुमा रंगशालामा बनेका पिल्लरका छडमा लागेको खिया सफा गर्ने, बाँकी भाग भर्ने, टावर विल्डिङको काम सुरु गरिने आचार्यले बताउनुभयो । निर्माण कम्पनीसँग कामको तालिका समेत लिएर काम गराइने उहाँको भनाइ छ । इन्जिनियर आचार्यका अनुसार थप १० हजार क्षमताको प्याराफिटसहित मैदान हिमालयन कालिञ्चोक बीबीआर जेभीले तयार गर्नेछ । सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाउन्डेसनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । प्याराफिटका लागि २८६ पिलर उभ्याइएको छ ।

रंगशाला निर्माणको पहिलो किस्ता ९१० प्रतिशत०वापत निर्माण कम्पनीले ६ करोड ८० लाख रकम असार मसान्त अगाडि नै भुक्तानी लिइसकेको छ । बीबीआर निर्माण कम्पनीका अध्यक्ष विकास गौतमले महानगरमा आएर डिजाइन सहितको नक्सा र फिल्ड भिजिट गरेपछि काम सुरु हुने बताउनुभयो ।उहाँले एक हप्ता भित्रै ‘साइट मोबिलाइजेसन’ गर्ने गरी तयारी गरेको दाबी गर्नुभयो । उहाँका अनुसार निर्माण कम्पनीको साइटमा कन्ट्याक्ट म्यानेजर १ जना, सहायक इन्जिनियर १, सर्भेयर २, सव–इन्जिनियर १ जना तथा अन्य व्यवस्थापकीय टिम रहने जानकारी दिनुभयो । ३० महिनाभित्र सक्ने गरी निर्माण कम्पनीले भरतपुर महानगरपालिकासँग गत असार २३ गते सम्झौता गरेको थियो । २०८३ पुस २२ गतेसम्म निर्माणको म्याद दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू