अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 19:03

विपदमा सक्रियता बढाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०८१ साउन ५ गते ५:३० मा प्रकाशित

गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्का बेला आफ्नो सक्रियता बढाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।गृहमन्त्री लेखकले प्रमुख जिल्ला अधिकारीका साथै जिल्ला सुरक्षा समितिलाई समेत मनसुनजन्य विपद्बाट प्रभावित भएका नागरिकलाई राहत दिन तथा उद्धार गर्न राज्यका तर्फबाट कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिनुभएको हो ।

गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद पनि विपद् व्यवस्थापनमा धेरै काम गर्नुपरेको उल्लेख गर्नुभयो । विपद् व्यवस्थापनका साथै जिल्लाको शान्ति सुरक्षा, लागू औषध नियन्त्रण, आपराधिक गतिविधि नियन्त्रणलगायत विषयमा सक्रिय हुन मन्त्री लेखकले निर्देशन दिनुभएको थियो ।

भर्चुअल बैठकमा गृह सचिव एकनारायण अर्यालले विपद्को सुरुवाती दिनमै यसपटक देशभर धेरै जनधनको क्षति भएको बताउनुभयो । बाढी पहिरोबाट पीडित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नका लागि समन्वय गर्न प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन पनि दिनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलले विपद्का क्रममा विभिन्न प्रभावित जिल्लाका एक हजार चार सय परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिनुभयो । भर्चुअल बैठकमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समितिका पदाधिकारीको सहभागीता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू