महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, नेपालका सहअध्यक्ष तथा समाजवादी मोर्चा नेपालका कार्यदल सदस्य गंगानारायण श्रेष्ठले समाजवादी मोर्चाले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्ने बताउनुभएको छ ।कार्यदल सदस्य श्रेष्ठले समाजवादी मोर्चाले देशमा राजनीतिक परिवर्तनबाट प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्ने बताउनुभएको हो । उहाँले नयाँ सत्तारुढ गठबन्धनले देशलाई पश्चगमनमा धकेल्न लागेको आरोप लगाउनुभयो । उहाँले प्राप्त उपलब्धिहरुलाई छिन्ने धृष्टता गरे समाजवादी मोर्चाले त्यसको बिरुद्धमा सडक र सदनबाट सङ्घर्ष गर्ने बताउनुभयो ।
कार्यदल सदस्य श्रेष्ठले देशका समाजवादी, कम्युनिस्ट र वामपन्थी शक्तिहरुहरु एकतावद्ध हुनुपर्ने आवश्यकता रहेको भन्दै मोर्चाले त्यसको आधार तयार गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा मोर्चामा आवद्ध दलहरु पार्टी एकताको तहसम्म पुग्नसक्ने पनि बताउनुभयो । कार्यदल सदस्य श्रेष्ठले वर्तमान सत्तारुढ गठबन्धनभित्र षड्यन्त्रका गन्धहरु देखिएको भन्दै मोर्चाले षड्यन्त्रहरुको प्रतिवाद गर्ने बताउनुभयो ।नेपाल समाजवादी पार्टी औपचारिक रुपमा समाजवादी मोर्चामा समावेश भएसँगै पार्टीका एक अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका सदस्य नरहेका व्यक्तिहरु पार्टीको नाम लिइ मोर्चामा गएको भन्दै बिरोध जनाउनुभएको थियो । यस सम्बन्धमा प्रष्ट पार्टी सह–अध्यक्ष श्रेष्ठले नेपाल समाजवादी डा। भट्टराई र महिन्द्र राय यादव नेतृत्वको दुईवटा भइसकेको प्रष्ट पार्नुभयो ।
उहाँले पार्टीका दुई अध्यक्षमध्ये महिन्द्र राय यादवले नेतृत्व गरेको पार्टी मोर्चामा सामेल भएको उल्लेख गर्दै डा। भट्टराईले आफ्नो पार्टीका सदस्यहरुको हस्ताक्षर दुरुपयोग गरेर निर्वाचन आयोगमा अद्यावधिक गरेको बताउनुभयो । उहाँले यस सम्बन्धमा आफुहरुले आयोगमा निवेदन दर्ता गरिसकेको भन्दै पार्टीको आधिकारिकता बारेमा आयोगले स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
वागमती प्रदेश सकारकारका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहनुभएका श्रेष्ठले प्रदेश सरकार निर्माणमा केन्द्रबाट हस्तक्षेप गर्नु नहुने बताउनुभयो । प्रदेश सरकार स्वायत्त सरकार भएको उल्लेख गर्दै उहाँले कुन–कुन दलहरु मिलेर सरकार गठन गर्ने भन्ने निर्णयको अधिकार प्रदेशसँगै हुने बताउनुभयो । उहाँले केन्द्रिय गठबन्धन टुट्नासाथ सबै प्रदेशका गठबन्धनहरु फेरबदल हुँदा यसले प्रदेशको औचित्य र आवश्यकतामाथि नै प्रश्न उठाएको बताउनुभयो ।
सहअध्यक्ष श्रेष्ठले संघीयताको कार्यान्वयन गर्न प्रहरी समायोजन गर्न केन्द्र सरकारले प्रक्रिया अगाडि नबढाएको भन्दै प्रहरी समायोजनको माग गर्दै सर्वोच्च अदालतमा जाने चेतावनी दिनुभयो । प्रदेश सरकारले केन्द्र सरकारका विरुद्ध प्रहरी समायोजनको मागसहित मुद्दा हाल्ने तयारी गरेको भएपनि सम्भव हुन नसकेको उहाँको भनाई छ । उहाँले आफू सरकारबाट बाहिरिएपनि प्रहरी समायोजनको माग गर्दै एउटा नागरिकको रुपमा सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने स्पष्ट पार्नुभयो । उहाँले समाजवादी मोर्चाको भावि कार्ययोजना बनाउनका लागि कार्यदलले काम गरिरहेको भन्दै तोकिएकै समयसिमाभित्र प्रतिवेदन पेश गरिने जानकारी दिनुभयो ।