अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२१ | Colorodo: 10:36

सरकारले निजी क्षेत्रलाई दुःख दिँदैन : अर्थमन्त्री पौडेल

बिआरटीनेपाल २०८१ साउन ४ गते ७:२१ मा प्रकाशित

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले निजी क्षेत्रलाई कुनैपनि दुःख नदिने प्रतिवद्धता जनाउनुभएको छ ।शुक्रबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने बताउनुभयो । उहाँले राजनीतिक अस्थिरताको कारण मुलुक र निजी क्षेत्रले समस्या भोग्दै आएको भन्दै स्थायित्व र स्थिर सरकारको सन्देश दिने गरी सरकार बनेकाले सबै समस्याको समाधान पनि यही सरकारले दिने उल्लेख गर्नुभयो । उहाँले राजनीतिक स्थायित्व सुनिश्चित गर्ने र अर्थतन्त्रका समस्यालाई समाधान गर्ने प्रयासका साथ सरकार अगाडि बढेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले बजारमा माग, उत्पादन,पुँजीगत खर्च र राजश्व लगायतका सूचकहरु घटेको अवस्था रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रका सूचकहरु मात्रै नभएर मानिसहरुको मन टुटेको भन्दै आत्मविश्वास बढाउने गरी काम गर्ने बताउनुभयो । उहाँले बैंकमा तरलता हुँदा र ब्याजदर घट्दै जाँदा समेत कर्जा प्रवाह नभएको भन्दै निजी क्षेत्रको आत्मविश्वास जगाउनु सरकारको पहिलो चुनौति रहेको बताउनुभयो ।अर्थमन्त्री पौडेलले उद्योगीहरु नयाँ क्षेत्रमा लगानी गर्ने भन्दा पनि कसरी व्यवसाय बचाउने भन्ने चिन्तामा रहेकाले कर्जा प्रवाह हुन नसकेको बताउनुभयो । उहाँले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको बलियो आधार भएकाले निजी क्षेत्रको आत्मविश्वास बढाउन सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले निजी क्षेत्रले सरकारप्रति आशा,भरोसा र विश्वास गरे त्यहाँका समस्या समाधान गर्नको निम्ति प्रभावकारी पहलकदमी लिने बताउनुभयो । उहाँले निजी क्षेत्रले शिथिल र संकुचनमा रहेको अर्थतन्त्रलाई लयमा फर्कनसक्ने विश्वास दिन आग्रह गर्नुभयो । उहाँले सरकार सबैको अभिभावक भएकोले अभिभावकको भुमिका निर्वाह गर्ने बताउनुभयो । अर्थमन्त्रीसँगको भेटमा नेपाल चेम्बर अफ कमर्सले कर्जाको पुनर्तालिकीकरण भए धरासायी उद्योग बचाउन माग गरेको छ । चेम्बरका अध्यक्ष आर्थिक गतिविधीमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भएपनि निजी क्षेत्रमा लगानीप्रति आर्कषण नभएकोप्रति ध्यानाकर्षण गराउनुभयो ।

उहाँले आर्थिक र वित्तीय क्षेत्रको निकासका लागि नीतिगत स्थायित्व र सरकारी संरक्षणको आवश्यकता रहेको बताउनु भयो । उहाँले कालोसूचिमा पर्न लागेका उद्यमी व्यवसायीहरुलाई उद्योग व्यवसायको प्रकृति हेरेर केही समयका लागि कर्जाको पुनःतालिकीकरण गर्नुपर्ने माग राख्नुभयो । कर्जाको पुनःतालिकीकरण गर्न सकिए उद्यमी व्यवसायीहरुमा ठूलो आत्मविश्वास सिर्जना गर्न सकिने र धेरै उद्यमी व्यवसायीलाई धरासायीहुनबाट जोगाउनुपर्ने चेम्बरको माग छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू