अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६ | Colorodo: 21:51

शान्ति मिसनमा सबैभन्दा धेरै महिला सैनिक पठाउनेमा नेपाल पहिलो

बिआरटीनेपाल २०८१ साउन ३ गते ८:३५ मा प्रकाशित

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सबैभन्दा धेरै महिला सैनिक पठाउनेमा नेपाल पहिलो भएको छ। नेपाली सेनाको मुख्यालय जंगी अड्डाले बिहीबार पत्रकार सम्मेलन गरी शान्ति सेनामा सबैभन्दा धेरै महिला सैनिक पठाउनेमा नेपाल पहिलो भएको जनाएको हो। सेनाले मिसनमा अहिलेसम्म २ हजार ७ सय ७ जना महिला सैनिकहरू पठाइसकेको छ। अहिले सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतसहित कुल ६७४ जना महिला सैनिक शान्ति सेनाको मिसनमा सहभागी छन्। यो संख्या अनुसार महिला सैनिकहरूको योगदानमा संख्यात्मक हिसाबले नेपाल पहिलो स्थानमा रहेको जंगी अड्डाले जनाएको छ।

रूवान्डाका ६०५ जना, बंगलादेशका ४७१ जना, घानाका ४६६ जना, तान्जानियका १८२ जना, इन्डोनेसियाका १८० जना खटिएका छन्। त्यस्तै, महिलामा मात्रै भएर नेपाल संख्यात्मक हिसाबले सबैभन्दा धेरै सैनिक पठाउनेमा पनि पहिलो स्थानमा छ। अहिले विश्वमा ११ वटा विभिन्न शान्ति मिसनहरूमा नेपाली सेनाका ५ हजार ९१६ जना शान्ति सैनिकहरू तैनाथ छन्। यो संख्या शान्ति सेनामा तैनाथ गर्नेहरूमध्ये नेपाल पहिलोमा पर्ने सेनाले जनाएको छ।

नेपाली सेनाले २०१२ मंसिर २९ सालमा राष्ट्र संघको सदस्यता हासिल गरेको थियो। २०१५ साल जेठ ३० गते लेबनानमा पाँच सदस्यीय सैनिक पर्यवेक्षकहरूको पठाएसँगै मिसनमा सहभागिता हुन थालेको हो। २०३१ सालमा राष्ट्र संघको आह्वानमा नेपाली सेनाको पहिलो युनिटको रूपमा पुरानो गोरख गण शान्ति स्थापनाका लागि इजिप्टमा पठाइएको थियो। ६ दशकको अवधिमा अहिलेसम्म विभिन्न ४४ वटा मिशनमा एक लाख ५२ हजार ८१८ जना शान्ति सैनिकहरू पठाइएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू