अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१७ | Colorodo: 13:32

११ महिनामा १३ खर्ब २७ खर्ब रेमिट्यान्स भित्रियो

बिआरटीनेपाल २०८१ असार २७ गते ६:४० मा प्रकाशित

चालू आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा नेपालमा भित्रने रेमिट्यान्स १९ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स २२ दशमलव ७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति नेपालीको संख्या ४ लाख २२ हजार ९ सय ३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७ सय ५ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४ सय १५ र २ लाख ६० हजार २ सय ६२ रहेको थियो । समीक्षा अवधिमा चालु खाता २ खर्ब ३९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो खाता ७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७ दशमलव ८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको छ ।

२०८१ जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव १७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६ दशमलव ८३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव ९४ प्रतिशत रहेको छ । चालु वर्षको एघार महिनामा कुल वस्तु आयात १ दशमलव ८ प्रतिशतले कमी आई १४ खर्ब ५३ अर्ब ७० करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६ प्रतिशतले कमी आएको थियो । यस्तै कुल वस्तु निर्यात ३ प्रतिशतले कमी आई १ खर्ब ३९ अर्ब २६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २२ दशमलव ७ प्रतिशतले कमी आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू