नेकपा एमाले प्रतिनिधि सभामा प्रतिपक्षी बेन्चमा बसेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएरपछि एमाले प्रतिपक्षी बेन्चमा बसेको हो । अहिले प्रतिनिधि सभामा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी बेन्चमा छ । एमाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेससँगै बस्न पुगेको हो ।आजको बैठकमा प्रतिनिधि सभाका दुई ठूला दल कांग्रेस र एमाले दुवै प्रतिपक्षी बेन्चमा देखिएका हुन् । प्रतिपक्षी बेन्चबाट बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बहुमत गुमाएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा दिनुपर्ने बताउनुभयो ।
यसैबीच प्रतिनिधि सभा बैठकभन्दा अघि बसेको नेकपा एमाले संसदीय दलको बैठकले स्पष्ट रूपमा अल्पमतमा परेकाले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको थियो । प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ । यदि प्रधानमन्त्रीले राजीनामा नदिई विश्वासको मत लिए एमालेले त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । यसअघि नेपाली कांग्रेसले हिजै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।
यसैबीच नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वास मत दिने भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकपछि नेता जगन्नाथ खतिवडाले अहिलेको सरकारलाई विश्वास मत दिने बताउनुभयो ।
