अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१७ | Colorodo: 01:32

प्रचण्डसँगको छलफलपछि राजीनामा नदिइ फर्किए रास्वपाका चार मन्त्री

बिआरटीनेपाल २०८१ असार २१ गते ५:२५ मा प्रकाशित

राजीनामा दिन भनेर बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिइ फर्किएका छन्। आज बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका चार मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि राजीनामा नदिइ फर्किएका हुन्। छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने बताउँदै त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो। प्रचण्डको सोही आग्रहमा उनीहरूले राजीनामा नदिइ फर्किएको रास्वपाका एक नेताले जानकारी दिएका छन् ।

ती नेताका अनुसार छलफलका क्रममा गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति लामिछानेले छिटो विश्वासको मत लिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीले आफूले संवैधानिक अधिकार प्रयोग गर्ने र संसदलाई जवाफ दिने बताएकाले तत्कालै विश्वासको मत लिन सभापति लामिछानेले आग्रह गर्नुभएको हो ।हालको सरकारमा रास्वपाका सभापति लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगारमन्त्री, सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री हुनुहुन्छ । रास्वपाले एमाले(कांग्रेसको सरकारमा नजाने र प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको थियो।

एमालेले सोमबार राति नेकपा माओवादी केन्द्रसँग गठबन्धन तोडी नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेको थियो। नेकपा एमालेको तर्फबाट प्रधानमन्त्री दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूले हिजै राजीनामा दिएका छन्। साथै, एमालेले आफ्नातर्फबाट सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय