अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१८ | Colorodo: 01:33

पहिरो खस्न थालेपछि बेनी–जोमसोम सडक अवरुद्ध

बिआरटीनेपाल २०८१ असार २१ गते ४:५६ मा प्रकाशित

रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा वर्षासँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ ।सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुन थालेको हो ।

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटक घन्टौँसम्म जाममा पर्ने गरेका अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । मुस्ताङको थासाङ गाउँपालिका–४ लेतेका सोमविर परियारले बैसरीमा पहिरो खसिरहने र सडक अवरुद्ध हुने समस्याले यात्रुलाई समयमा गन्तव्यमा पुग्न समस्या भएको बताउनुभयो ।

रघुगङ्गा गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बैसरीमा सडकमाथिको झन्डै चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखो पहिरोमा परिणत भएको छ । सडकमाथि पहाडको डिल छ ।पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका गाडीलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको गाडी चालक सुरेश सेञ्चुरीले बताउनुभयो । ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन नहुँदा आवतजावतका साथै आलुलगायत कृषिउपज निकासी प्रभावित भएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू