अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०९ | Colorodo: 04:24

देशका अधिकांश स्थानमा बर्षा, ठूलो पानी पर्ने संभावना

बिआरटीनेपाल २०८१ असार १९ गते ७:३८ मा प्रकाशित

अहिले देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकोले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो पानी परिरहेको हो । बाँके, बर्दिया, दाङ, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, स्याङ्जा, पाल्पा, गोरखा, धादिङ, चितवन ललितपुर, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, पर्सालगायतका जिल्लामा ठूलो पानी परिरहेको छ । आज कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँहरूमा, लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङसहित हल्कादेखि भारी वर्षा हुने सम्भावना छ ।

दिउँसो सिन्धुपाल्चोकको मेलम्ची नदी सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ । वर्षाका कारण मधेश प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्रसहित जनकपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् । आउँदो तीन दिनसम्म नै कर्णाली, महाकाली, कोशी, नारायणी, बाग्मती र यसका प्रमुख सहायक नदीहरू तथा कमला, कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई नदीको जलसतह उल्लेख्य रूपमा बढ्ने भएकाले उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आजदेखि केही दिन सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षा हुने सम्भावना रहेको छ । मनसुनी प्रणाली पर्सि बिहीवारसम्म नै सक्रिय हुने र मौसममा सुधार नआउने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । यसैबीच अब धान रोपाइँका लागि पर्याप्त पानी पर्ने मौसमविद्ले बताएका छन् । नेपालमा धान रोपाइँका लागि आवश्यक पर्ने प्रणाली अर्थात् मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भाग नजिक रहेकोले रोपाइँका लागि पर्याप्त पानी पर्ने जलवायु विज्ञ ङमिन्द्र दाहालले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय