पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन नेकपा विभाजन रोक्न आफूले पहल गरेको भएपनि सफल हुन नसकेको खुलासा गर्नुभएको छ । ०७७ मा नेकपा विभाजन हुँदा भण्डारी राष्ट्रपतिको भूमिकामा हुनुहुन्थ्यो । शुक्रबार मदन भण्डारी प्रतिष्ठानले धुलिखेलमा गरेको कार्यक्रममा उहाँले देशका लागि आफूले नेकपा विभाजन रोक्न प्रयास गरेको बताउनुभएको हो । भण्डारीले तत्कालीन नेकपाको विभाजनका बेलामा आफूलाई निकै ठुलो चिन्ता लागेको पनि बताउनुभयो । ‘०७७ को कुरा हो । त्यतिबेला मलाईभन्दा बढी पीडा कसलाई थियो होला ?’, भण्डारीले भनिन, ‘झण्डै दुई तिहाइ मत ल्याएको पार्टी यदुवंशी भएर झगडा गरेर फुटेर टुक्राटुक्रा हुन्छ भने मलाई एकदमै चिन्ता हुनु स्वाभाविक हो ।’
भण्डारीले त्यतिबेला आफूले राजनीति नगरेको समेत दाबी गर्नुभयो । आफूले गरेका गतिविधि राजनीति नभएपनि राजनीति गरेको भनेर आरोप लागेको उहाँको दाबी थियो । ‘यो राजनीति होइन । यो राष्ट्रका लागि, राजनीति गर्नुपर्छ भने पनि गर्नुपर्छ । एजेन्सी खेल्ने । पार्टी नफुटाउभन्दा राजनीति हुने रु मैले थाहा पाएरै गरेको हुँ’, भण्डारीले भन्नुभयो, ‘पाँच महिनामा महाधिवेशन हुन्छ भनेर पर्खन आग्रह गर्दा पनि नेताहरूले मान्नुभएन ।’ उहाँले अगाडि भन्नुभयो, ‘तपाईं पूर्वराष्ट्रपति भएर यस्तो भन्नुहुन्छ । हिजो एमालेको नेता हुनुहुन्थ्यो । एमालेचाहिँ किन नमिलाएको भन्ने पर्न सक्ला । कोसिस त मैले धेरै गरेको । मैले एमालेको लागि होइन देशका लागि गरेको जनतालाई सम्झेर । राजनीति भनेको राष्ट्रसेवा हो । यो व्यवसाय होइन । समाजसेवा, राष्ट्रसेवा हो ।’
त्यसवेला आफूले खुट्टा समातेर ढोग्नमात्र नसकेको भन्दै नेताहरूले विपक्षसँग साँठगाँठ गरेकाले समस्या आएको बताउनुभयो । उहाँले एमाले जब अलि अघि बढ्छ त्यतिबेला ठेस लाग्ने गरेको स्मरण गर्दै ०५० सालमा जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याले राष्ट्रले ठुलो घाटा बेहोरेको बताउनुभयो । ०५४ सालमा पनि आफूले पार्टी विभाजन गर्न नहुने अडान लिएको भन्दै उहाँले आन्तरिक रूपमा समाधान गरेर अघि बढ्न आग्रह गरेको स्मरण गर्नुभयो। ‘पार्टी विभाजन गरेर कलंकको टीका नलगाउनुस् भनेको, खरानी हुन तयार छु भने’, भण्डारीले नेता वामदेव गौतमप्रति लक्षित गर्दै भन्नुभयो, ‘अहिले खरानी भएका छन् । सिंगो दलका नेता हुने मान्छे ।’