अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३७ | Colorodo: 07:52

संसद्मा सवाल जवाफ- ”अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ”

बिआरटीनेपाल २०८१ असार १२ गते ६:२९ मा प्रकाशित

प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालयअन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जबाफ दिनुभएको छ । परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ इरान गएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  ले नै परराष्ट्र मन्त्रालयको पनि कार्यभार सम्हाल्नुभएको छ। त्यसैले प्रधानमन्त्री प्रचण्ड सांसदहरूका प्रश्नमाथि जबाफ दिन रोस्टममा पुग्नुभयो । प्रधानमन्त्री प्रचण्डले दिएका जबाफमा चित्त नबुझेर सांसदहरूले थप प्रश्नसमेत सोधेका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालमा प्रधानमन्त्री र सरकार छ कि छैन भन्ने प्रश्न सोध्नुभएको थियो । रुसी सेनामा अलपत्र नेपालीहरूले भारत सरकारको सहयोग मागेको प्रसंग सुनाउँदै शाहीले रुस-युक्रेन युद्धमा गएका नेपालीलाई स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘नेपालमा प्रधानमन्त्री हुनुहुन्छ कि हुनुहुन्न, सरकार छ कि छैन। प्रधानमन्त्री हुनुहुन्न भनौं भने हाम्रै अगाडि बस्नुभएको छ। यदि हुनुहुन्छ भने २८ फागुन २०८० मा सन्तोषकुमार श्रेष्ठसहित ३ जना रुसी सेनामा अलपत्र परेका नेपालीले भारतीय सरकारसँग सहयोग मागेका थिए,’ शाहीले भन्नुभयो, ‘४२ जना मानिस मृत्यु भइसकेको र १०० बढी घाइते छन्। एक हजार बढी सहभागी रुस-युक्रेन युद्धमा छन्।’

शाहीले युद्धमा रहेका नेपालीलाई उद्धार गर्न नसक्नेलाई के सरकार छ भन्नुसमेत भन्नुभयो। ‘आफ्ना नागरिक रक्षा गर्न सक्दैन भने त्यो सरकार के को सरकार, यो सरकार हुनुको आवश्यकता छ जस्तो लाग्दैन,’ शाहीले भन्नुभयो, ‘सरकार महसुस छ भने ती नागरिक कहिले ल्याउनेरु सिर्फ झण्डा हल्लाउन र कुर्सीका लागि मात्रै प्रधानमन्त्री बनेको भए बधाई नत्र जबाफ चाहियो।’

सांसदहरूका प्रश्नको जबाफ दिन रोस्टममा पुगेका प्रधानमन्त्री प्रचण्डले ज्ञानेन्द्र शाही सदनमा रहे, नरहेको खोजी गर्नुभयो। ‘नेपालमा प्रधानमन्त्री छ कि छैन भन्ने प्रश्न गर्ने माननीय यहीँ हुनुहुन्छ कि जानुभयो? भन्ने प्रधानमन्त्री दाहालको भनाइ थियो। त्यसपछि ज्ञानेन्द्र शाहीले छु भन्दै हात उठाउनुभयो । यसपछि प्रधानमन्त्री प्रचण्डले जबाफ दिन सुरू गर्नुभयो । ‘नेपालमा प्रधानमन्त्री छ, त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकारले पठाएर नेपाली नागरिक रुसी सेनामा त गएका होइनन्।’ प्रधानमन्त्रीले राति १२ बजे पनि रुस(युक्रेन लडाइँमा रहेका नेपालीहरूसँग आफूले कुरा गर्ने गरेको बताउनुभयो।

‘मोर्चामा भएका, लडाइँ लड्दै गरेका नेपालीहरूसँग राति १२ बजे फोनमा कुरा गर्ने गरेको छु। उनीहरूलाई फिर्ता ल्याउन राय लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘त्यस्तो प्रधानमन्त्री तपाईं कुनै दिन हुनु भएछ भने तपाईंले कति गर्नुहुन्छ म हेर्न चाहन्छु।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू