अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२० | Colorodo: 12:35

आयकर ऐनको दफा ५७ लगानी प्रोत्साहनका लागि संशोधन गरिएको हो : अर्थमन्त्री पुन

बिआरटीनेपाल २०८१ असार १२ गते ५:३४ मा प्रकाशित

अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक मार्फत आयकर ऐनको दफा ५७ लगानीकर्ताबाट लगानी प्रोत्साहित र पुँजीवृद्धिको लागि संशोधन गरिएको स्पष्टिकरण दिनुभएको छ । मंगलबार प्रतिनिधि सभामा आर्थिक विधेयक माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले यस्तो स्पष्टिकरण दिनुभएको हो ।अर्थमन्त्री पुनले सरकारले लगानीका लागि कर सम्बन्धि व्यवस्थामा केही लचिलो बनाएर लगानीकर्तालाई सकारात्मक सन्देश दिन खोजेको बताउनुभयो । उहाँले सकारात्मक दृष्टिकोणका साथ आर्थिक विधेयकमार्फत आयकर ऐनको दफा ५७ मा गरिएको व्यवस्थाका बारेमा अनुमानका आधारमा लगानीकर्ताको मनोवल गिराउने गरी टिप्पणी गर्न उपयुक्त नहुने बताउनुभयो ।

अर्थमन्त्री पुनले आयकर ऐनको सो दफामा भएको वर्तमान व्यवस्था अनुसार ३ वर्षको अवधिमा कुनैपनि कम्पनीको स्वामित्व ५० प्रतिशत वा सोभन्दा बढीले परिवर्तन भयो भने सो निकायले आफ्नो सम्पती तथा दायित्व निःसर्ग गरेको मानिने बताउनुभयो । उहाँले ५० प्रतिशतभन्दा बढी स्वामित्व परिवर्तन भएको अवस्थामा स्वामित्व परिवर्तन हुनुअघि र पछिको भागलाई छुट्टाछुट्टै आय वर्षको रूपमा लिने व्यवस्थामा आयकर ऐन संशोधन गरी कम्पनीमा पुराना शेयरधनी कायमै रहेको अवस्थामा थप पुँजी लगानी गर्दै ५० प्रतिशतभन्दा बढी स्वामित्व परिवर्तन भएपनि दफा ५७ आकर्षित नहुने व्यवस्था गरिएको बताउनुभयो ।

कम्पनीको ५० प्रतिशत भन्दा बढी नियन्त्रण परिवर्तन हुँदा कम्पनीलाई निःसर्ग बिक्री सरह मान्नुपर्ने र सोही अनुसार कम्पनीको दायित्व र सम्पतिको मूल्याङ्कन गरी आय भएमा कर तिर्नुपर्ने र नोक्शानी भए सार्न नपाउने व्यवस्था साविक आयकर ऐन २०५८ को दफा ५७ को व्यवस्थाले लामो समयदेखि निजी क्षेत्रको यो दफाले लगानी आप्रवाहलाई निरुत्साहित गरेकाले संशोधन गरिएको बताउनुभयो । उहाँले खास गरी साना स्टार्टअप कम्पनीमा लगानी गर्ने भेन्चर क्यापिटल र प्राइभेट इकुटी फण्डमार्फत आउने पुँजीलाई यो दफाले निरुत्साहित गरेको गुनासो आएकाले संशोधन गरिएको बताउनुभयो ।

अर्थमन्त्री पुनले चालु आर्थिक वर्षको आर्थिक विधेयकको उक्त दफामा केही खुकुलो व्यवस्था गरी साविकका शेयरवाला तथा साझेदारको शेयर संख्या र पुँजी यथावत रही नयाँ शेयरवाला वा साझेदार थप भई पुँजी वृद्धि भएको अवस्थामा यो उपदफा लागू हुनेछैन भन्ने व्यवस्था राखिएको बताउनुभयो । उहाँले यो व्यवस्थाले कम्पनीमा साविकको शेयरवाला नफेरिने तर साझेदारको पुँजीवृद्धि र शेयर यथावत रहने बताउनुभयो ।

अर्थमन्त्री पुनले ऐन संशोधनमार्फत कम्पनीमा नयाँ शेयर थपियो भने कर नलाग्ने व्यवस्था गरी नयाँ लगानीकर्तालाई प्रोत्साहित गर्न खोजिएको बताउनुभयो । उहाँले कम्पनीमा नयाँ शेयर होल्डरमार्फत पुँजीवृद्धि गर्ने प्रक्रियालाई मात्रै सहुलियत दिएको बताउनुभयो । उहाँले अहिले कम्पनीले सो पुँजी लगानी नगरी ऋण लगानी गर्ने प्रवृत्तिले लगानीमा हुने विचलन रोक्ने बताउनुभयो । उहाँले साविकको व्यवस्थामा ४९ प्रतिशतसम्म सजिलै शेयर संरचना परिवर्तन गर्न सकिने व्यवस्थाले चलखेल भएको मान्न सकिने बताउनुभयो । मंगलबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले राखेको आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । सभामुखले आर्थिक विधेयक २०८१ माथिको दफाबार छलफलको लागि असार १६ गतेका लागि समय तोक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय